अपडेट 
२०८० माघ १६, मंगलवार ०७:५६

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।

बारा जिल्लाको सिमरा विमानस्थलमा सोमवार सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री प्रचण्डले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुने गरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताए । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड् यन्त्रपूर्ण गतिविधि गर्ने काम भएको छ’ उनले भने, यस्तो अधिकार कसैलाई छैन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले २०५८ सालको दरबार हत्याकाण्डमा आफूलाई अत्यन्त दुखी बनाउने प्रचार गरिएको आरोप लगाएका थिए । वीरगञ्जमा गत शनिवार आयोजित अभिनन्दन समारोहमा पूर्व राजाले दलका नेताहरुमाथि विभाजन गर्ने आरोप लगाएका थिए । प्रधानमन्त्री दाहालले त्यसको काउण्टर गर्दै दरवार हत्याकाण्डको छानबिन गरिने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थाबारे बुझाउन स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्ने बताए । जनतालाई गणतन्त्रको मर्म बुझाउन नसकिएको भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्रीले भने–‘संविधानमा व्यवस्था भएका अधिकारबारे आम जनसमुदायलाई बुझाउन स्थानीय तहले नागरिकको प्रत्येक घरसम्म पुग्ने गरी जागरण अभियान वा घरदैलो कार्यक्रम सञ्चालन गर्नुस् ।’ संविधानले मधेशका नागरिक, महिला, दलितलगायत उत्पीडित वर्ग र समुदायको पहिचान र अधिकारको प्रबन्ध गरेको उनले स्पष्ट गरे । ‘आम जनसमुदायसम्म संविधानको मर्म र व्यवस्थालाई जसरी प्रस्तुत गर्नुपथ्र्यो, जसरी स्वामित्व लिनुपथ्र्यो, त्यसो हुन सकेको छैन ’ उनले भने–‘यसलाई जनतासम्म व्यवस्थित रूपमा बुझाउने जिम्मेवारी तपाईंहरूको हो ।’

संविधानमा व्यवस्था भएबमोजिमका सङ्घीय कानुनहरूको निर्माणमा उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको बताए । माध्यमिक शिक्षा विधेयक संसद्मा छलफलको प्रक्रियामा रहेको बताउँदै उनले सङ्घीय निजामती सेवा ऐन संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको जानकारी दिए ।

संघीय कानुनहरूको निर्माणलाई तीव्रता दिन आइतबार कार्यविस्तृतीकरण प्रतिवेदनमाथि आफूले उच्चस्तरीय छलफल चलाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले संविधानको अनुसूचीमा व्यवस्था भएबमोजिम संघ, प्रदेश र स्थानीय तहको एकल र साझा अधिकार सूचीको व्यवस्थित गरिने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले ३ करोडभन्दा कमका योजनामा लगानी नगर्ने घोषणा गरेका समेत गरेका छन् । उनले संघ, प्रदेश र स्थानीय तहबीच हुने योजनाको दोहोरोपनलाई रोक्न र जनतालाई विकासको प्रत्यक्ष अनुभूति गराउनका लागि ३ करोडभन्दा माथिको योजनामा मात्रै संघीय सरकारले लगानी गर्ने बताए । वीरगञ्जको नगरसभागृहमा आयोजित प्रेस सेन्टर नेपालको २०औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकको उद्घाटन सभामा प्रधानमन्त्री दाहालले सबैको सल्लाहमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए ।

सरकारले एकपक्षीय ढङ्गले ल्याउने नीति तथा कार्यक्रमले काम नगरेको भन्दै उनले अब नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिबीच बृहत् छलफल र बहसबाट प्राप्त रायसुझावकै आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउने बताए । सरकारले पहिले पुराना योजनालाई पूरा गर्ने अनि मात्र नयाँ योजनामा लगानी गर्ने निर्णयमा पुगेकाले आगामी आवको बजेट पुराना योजनालाई सम्पन्न गर्ने दिशातर्फ उन्मुख हुने प्रधानमन्त्रीको भनाइ थियो ।

उनले पुराना योजना सम्पन्न नहुँदै नयाँ योजना ल्याएका कारण ऋणको भार मात्र थपिएको र आम जनताले विकासको अनुभूति नगरेको बताए । सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको भन्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने महत्वपूर्ण कार्य गरेको उनले बताए । त्यस्तै प्रधानमन्त्री दाहालले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताए ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा स्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन भ्रमणपश्चात् स्थानीय व्यवसायीसँग सोमबार अन्तरक्रिया गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउनेमा जोड दिए । ‘निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,” प्रधानमन्त्रीले भने–‘रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्व दिएर निजी सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।’ ‘सेज’ले उत्पादन र निर्यात प्रवद्र्धनमा सहयोग पु¥याइ देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News