अपडेट 
२०८० माघ १६, मंगलवार ०८:००

जनता समाजवादी पार्टी नेपालले पछिल्लो समय संगठन विस्तार, सुदृढीकरण, पुनर्गठन जस्ता अभियानलाई तीव्रता दिएको छ । सोही अभियान अन्तर्गत मंगलबारदेखि जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघ मधेश प्रदेशका अगुवा महिला नेतृहरुका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

माघ १६ र १७ गतेका लागि जनकपुरधामको रमण टावरमा ‘संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद’ मुख्य नाराका साथ आयोजना हुन लागेको दुई दिवसीय कार्यक्रममा जसपा निकट मधेश प्रदेशका अगुवा महिला नेतृहरुको सहभागिता रहने छ । समाजवादी महिला संघका केन्द्रीय पदाधिकारी, मधेश प्रदेशका महिला पदााधिकारी, पार्टीका जिल्ला समिति, महिला सांसद र प्रदेश अन्तर्गत जसपा निकट स्थानीय जनप्रतिनिधि महिला नेतृ सहभागी हुने जनता समाजवादी पार्टी (जसपा)का धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले जानकारी दिएका छन् ।

केन्द्रदेखि प्रदेश समितिको विभिन्न निकायबाट एक सय बढी महिला नेतृ सहभागी हुने उक्त कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेतृत्वले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय राजनीतिमा महिला सहभागिता, उनीहरुको भूमिका, नेपालको संविधान एवं ऐन कानुनमा महिला अधिकारको उल्लेखित प्रावधान, सामाजिक लोकतन्त्र, समसामयिक राजनीतिक परिवेश लगायतका एजेण्डामा प्रशिक्षण दिइने समाजवादी महिला संघको मधेश प्रदेश समिति अध्यक्ष सञ्जीला यादवले जानकारी दिइन् ।

यसअघि हालैमात्र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्वमा विराटनगर, ओखलढुङ्गा, पोखरा, लुम्बिनी, लहान र जनकपुरधाममा प्रदेश एवं राष्ट्रिय समिति स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News