अपडेट 
२०८० माघ १७, बुधबार ०८:०२

जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेश पछि परेको बताएका छन् । मधेशलाई पछाडि पार्न शासक वर्गहरुले मधेशी, आदिवासी, जनजाति लगायतका महिला वर्गलाई विभिन्न बहानामा राजनीतिबाट टाढा राखेर आफ्नो स्वार्थ सिद्ध गरेको आरोप उनले लगाए ।

समाजवादी महिला संघ मधेश प्रदेश समितिको जनकपुरधाममा जारी दुई दिवसीय प्रशिक्षण कार्यक्रमको मंगलवार उद्घाटन गर्दै अध्यक्ष यादवले शासकवर्गको मधेश प्रतिको विभेदकारी नीतिका कारण मधेश, शिक्षा, स्वास्थ्य, रोजगार जस्तो आधार भूत क्षेत्रमा पछि परेको दाबी गरे । मधेशी जनताले शासक वर्गको प्रवृत्तिविरुद्ध गरेको विद्रोहको बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि केन्द्रीकृत मानसिकता बोकेका शासकवर्गको मधेश प्रतिको प्रवृत्तिमा अझै सुधार आउनुपर्ने बताए । ‘नेपाली शासक वर्गले मधेशप्रतिको दृष्टिकोण फेर्न आवश्यक छ ’ उनले भने, आफ्नै देशमा विभेद मुक्तिका लागि पटकपटक लड्नु पर्दा परिणाम अकल्पनीय हुनसक्छ । शासक वर्गकै कारण मधेशमा पटक पटक आन्दोलन गर्नु परेको र मुलुकमा गणतन्त्र स्थापना भएको बताउँदै उनले गणतन्त्र स्थापनाकालागि शहादत दिएकाहरु प्रति श्रद्धाञ्जली समेत अर्पण गरे । ‘समथल भू–भाग , उर्वर भूमि जस्ता विकासका आधारभूत तत्वहरु मधेशमा भए पनि सबै क्षेत्रमा मधेश पछि पर्नुको एक मात्र कारण विगतका गलत नीति, योजना र विभेदकारी शासन प्रणाली रहेको छ ’ उनले भने–‘मुलुक संघीय शासन प्रणालीमा गए पनि विभेद उन्मूलन हुन सकेको छैन् ।’ मधेश प्रदेशलाई दिने बजेट लगायतको सेवा सुविधामा समेत विभेद भइरहेको आरोप लगाउँदै अध्यक्ष यादवले भने–‘विभेद अन्त्य नभए सम्म मधेश विकास निर्माणमा फड्को मार्न सक्दैन् ।’

समाजवादी महिला संघका प्रदेश अध्यक्ष एवं प्रदेश सभासद संजिला यादवको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा अर्थमन्त्री संजयकुमार यादवले मधेशी महिलाहरु घरबाट बाहिर निस्कनु पर्ने धारणा राखेका थिए । उनले मधेशी महिला हरेक क्षेत्रमा दक्ष भए पनि राजनीतिमा पछाडि पर्नुपर्ने बाध्यात्मक परिस्थितिलाई पार गर्न आफै अगाडि आउनुपर्नेमा जोड दिए । ‘मधेश प्रदेशमा महिलाहरुको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको छ’ उनले भने–‘हरेक क्षेत्रमा महिलाको सहभागीता बढाउन प्रदेश सरकारले प्राथमिकताका साथ काम बढाएको छ ।’

कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले मधेश आन्दोलनमा महिलाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि राजनीतिमा अवसरबाट बञ्चित गरिएको बताइन् । ‘हरेक निकायमा महिलाको ५० प्रतिशत सहभागिता अनिवार्य हुनुपर्छ’ उनले भनिन्–‘मधेश प्रदेश सरकारमा २ जना मात्र महिला मन्त्री रहेका छन् ।’ कार्यकारी अधिकार नदिएसम्म महिला राजनीतिमा सक्रिय नहुने बताउँदै मन्त्री साहले आगामी निर्वाचनहरुमा पुरुष जस्तै महिलालाई पनि प्रत्यक्ष निर्वाचनमा सहभागी गराउन आग्रह गरिन् ।

जसपा राजनीतिक समिति सद्स्य एवं समाजवादी महिला संघकी केन्द्रीय अध्यक्ष निर्मला यादव, राजनीति समिति सदस्य संघीय सांसद रेखा कुमारी यादव लगायतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए । बुधबार सम्म चल्ने प्रशिक्षणमा मधेश प्रदेशका आठवटै जिल्लाबाट एक सय भन्दा बढी महिला नेतृहरुको सहभागीता रहेको छ ।

Comment


Related News

Latest News

Trending News