अपडेट 
२०८० माघ १९, शुक्रबार ०७:५६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजदरबार हत्याकाण्डबारे दिएको अभिव्यक्तिप्रति सात दलीय गठबन्धनभित्र असन्तुष्टि बढेको छ ।

प्रधानमन्त्री प्रचण्डले राजदरबार हत्याकाण्डको छानबिन हुने भनेपछि गठबन्धन मध्येका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सल्लाह नै नगरी बोलेको भन्दै असन्तुष्टि जनाएका छन् । गठबन्धनको सरकार रहेको बेला प्रधानमन्त्री प्रचण्डले सल्लाह नै नगरी राजदरबार हत्याकाण्डको छानबिन गरिने भनेर दिएको अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल असन्तुष्ट भएका छन् ।

जनकपुरधाममा बिहीबार समाजावादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत आफूसंग सरसल्लाह लिएर बोल्ने गरे पनि अहिलेको प्रधानमन्त्री प्रचण्डले सरसल्लाह नै नलिनु दुःखद रहेको टिप्पणी गर्दै उनले प्रधानमन्त्री प्रचण्डलाई विचार पुर्याएर बोल्न सुझावसमेत दिए । उनले विगतको स्मरण गर्दै भने–‘स्वर्गीय गिरिजाबाबु मसंग पनि सल्लाह गरेर बोल्नुहुन्थ्यो, राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री प्रचण्डले कसरी अचानक बोल्नु भो, खै ।’ भन्दै आश्चर्य प्रकट गरे । उनले राजतन्त्र श्मशान घाटको मुर्दा भइसकेकाले कसैले चाहँदैमा फर्काउन नसक्ने र फर्काउन पनि नदिइने बताए ।

उनले प्रचण्ड सरकारको एक वर्षे कामकाजको समीक्षा हुनुपर्ने बताउँदै अध्यक्ष नेपालले अहिलेको गठबन्धन पाँच वर्षसम्म र कसैले बिर्गान नसक्ने दावीसमेत गरे । उनले प्रधामन्त्री प्रचण्डको प्रशंसा गर्दै भने–‘प्रधानमन्त्री प्रचण्डले कतिपय धेरै राम्रा कामहरु पनि गरिरहनु भएको छ ।’

Comment


Related News

Latest News

Trending News