अपडेट 
२०८० माघ १९, शुक्रबार ०८:००

नेपाली काग्रेसका महामन्त्री गगन थापाले जनताको सवाल राजनीति मुद्दा बन्नु पर्ने बताएका छन् । किसान, युवा लगायतको रोजगारीको विषय, किसानको सिँचाई समस्या, विद्यार्थीको पढाई अवस्था, स्वास्थ्य र खेतखलिहानको विषय राजनीति मुद्दा बन्नु पर्ने महामन्त्री थापाले बताए ।

मुलुकको विकासका लागि जनताको समस्या राजनीति मुद्दा बन्नु पर्छ, महामन्त्री थापाले भने–‘ झापामा हात्तीको त्रास । धनुषा महोतरीका किसान निलगाईको आतंकले समस्यामा परेको छ । किसानको खेतमा सिँचाइको समस्या छ । तर यो समस्या विषयमा राजनीति छलफल हुँदैन । छलफलमा यस्ता विषय उठाउन खोज्दा उठाउनै दिंदैन ।’

जनताले दैनिक भोगिरहेको समस्या बारे गठबन्धन सहितको राजनीतिक दलको प्राथमिकतामा नपरेको उनले टिप्पणी गरे । महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताए ।

संवाद यात्राको क्रममा जिल्ला, भूगोल अनुसार फरक फरक समस्या लामो समय देखि यथावत रहेको र समाधानका लागि पहल नहुँदा राजनीतिक आन्दोलनले परिवर्तन भएको व्यवस्थाको अनुभूति हुन नसकेको थापाले बताए । काठमाण्डुले मधेशको ठूलो समस्यालाई बेवास्ता गर्दा मधेशको विकास हुन सकेन, महामन्त्री थापाले भने–‘ संवाद यात्राबाट देखेको समस्यालाई समाधान गर्न संघीय, प्रदेश र स्थानीय सरकारबाट पहल गर्नेछौ ।

नागरिकको सुझावलाई विकासको अनुभूति गर्न संघीय सरकारको बजेटमा राख्न राजनीतिक दललाई बाध्य बनाउने छौ ।’ सरकारको प्राथमिकतामा पार्टी र आफन्तको योजना बजेटमा राख्दा जनताको समस्यामाथि सरकारको ध्यान र योजना असाध्यै कम परेको छ, उनले भने । संवाद यात्राले कुन जिल्लामा कस्ता योजना र कस्तो पहल आवयक रहेको नजिकबाट पहिचान भएको उल्लेख गर्दै समस्या र आवश्यक्ता अनुसार विकास निर्माणमा बजेट छुट्याउन पहल गर्ने थापाले बताए ।

मधेशमा सिँचाइको समस्या समाधान गर्ने ठूला योजना अगाडि बढन नसकेको र साना सिँचाई आयोजना प्राथमिकतामा नपर्दा मधेशका किसान वर्षेनि खडेरीको समस्याले ग्रसित हुँदै आएकोले साना योजना अगाडि बढाउन सरकारलाई सुझाव दिने बताए । सिँचाइको समस्या तत्काल समाधान गर्न संघ र प्रदेश सरकार दुवै तहमा कांग्रेसले पहल थाल्ने छ, उनले भने ।

नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको उनले बताए । महामन्त्री थापाले आफूहरु भुईंमान्छेको प्रतिनिधि रहेकोले पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्न यात्रा प्रभावकारी भएको बताए ।

महामन्त्री थापाले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउन समेत यो सम्बाद कार्यक्रमले मद्दत गरेको बताए । पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उनले बताए । महामन्त्री थापाले धनुषामा वैदेशिक रोजगार र महोतरीमा किसानको समस्या बारे छुट्टाछुट्टै संवाद गरेको बताए ।

Comment


Related News

Latest News

Trending News