अपडेट 
२०८० माघ १९, शुक्रबार १५:२७

सर्लाहीको हरिवनबाट प्रहरीले बिहीबार १ लाख ७२ हजार नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट जिल्लाको माधवनारायण नगरपालिका–२ का ३६ वर्षीय संजय सहनी र सर्लाहीको बलरा नगरापालिका–७ का २७ वर्षीय अमरेन्द्र महरा छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश–०२–०२७प४२५६नम्बर र बीआर ३०एसी ८३१८ भारतीय नम्बरको मोटरसाइकललाई प्रहरीले सुराकीको आधारमा नियन्त्रणमा लिएको हो । ४२५६ नम्बरको मोटरसाइकलमा सवार सहनीले बोकेको कालो खैरो रङको झोला जाँच गर्नेक्रममा २५ वटा बण्डल प्लास्टिकले र्‍याप गरेको अवस्थामा प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । उनका अनुसार २१ बण्डलमा बीचमा पेपर तल र माथि केही हजार दरका नक्कली नोट र ४ वटा बण्डलको तल र माथि केही हजार दरका नक्कली नोट तथा बीचमा टेस्टी बिस्कुटको पुरीया फेला परेको छ । २५ वटा बण्डलमा कूल १ सय ७२ थान हजार दरका नक्कली नोट फेला परेको प्रहरी निरीक्षक गिरीले बताए ।

यस्तै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार सर्लाहीको बलरा नगरपालिका–७ का २७ वर्षीय अमरेन्द्र महराको साथबाट ८ ग्राम ८१० मिलीग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरु साथी रहेको र लालबन्दीतर्फ जाँदै गरेको खुलेको छ । नक्कली नोटको कारोबारमा अन्य पनि संलग्न रहेको आशंकासहित अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News