अपडेट 
२०८० माघ २०, शनिबार ०८:३०

दोहोरो नागरिकता सम्बन्धी मुद्दाको अनुसन्धानमा गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय साढे चार वर्षदेखि पत्राचारमा सीमित छन् । त्यसबाहेक अनुसन्धानको प्रक्रिया अघि बढेको छैन । गृहले जिल्ला प्रशासनलाई पत्राचार गर्ने र जिल्ला प्रशासनले गृहलाई पत्राचार गर्नेबाहेक दोहोरो नागरिकताको मुद्दामा अनुसन्धान अघि बढेको छैन ।

नेपालस्थित भारतीय दूतावासले कन्सुलर सेवा विभागलाई ०७६ सालमा पत्राचार गर्दै सप्तरीको राजविराजमा बसोवास गरिरहेका राजेन्द्रकुमार रुगंटा, उनकी श्रीमती मंजु रुंगटा, छोराहरु राहुलकुमार रुगंटा र अंकितकुमार रुंगटा तथा छोरी पूजा रुगंटाको दोहोरो नागरिकता रहेको भन्दै अनुसन्धान गरी कारबाहीका लागि पत्राचार गरेको थियो ।

कन्सुलर सेवा विभागको चलानी नम्बर एडिएम ७६०३०३७ को मिति २०७६ साल असार ३ गते गृह मन्त्रालयलाई पत्र पठाउँदै पाँचै जनाको दोहोरो नागरिकताका विषयमा अनुसन्धान गरी कारबाहीका लागि आग्रह गरिएको छ । त्यसपछि मन्त्रालयले कन्सुलर सेवा विभाग र भारतीय दूतावासको पत्र समेत साथमा राखेर जिल्ला प्रशासन कार्यालय सप्तरीलाई २०७६ साल असार ६ गते पत्राचार गरेको थियो ।

भारतीय दूतावासले पाँचै जनाको नेपाली र भारतीय दोहोरो नागरिकता भएको प्रमाण समेत दिएको छ । तर दूतावासबाट प्रमाणसहित कारबाहीका लागि पत्राचार हुँदा समेत नेपाली प्रशासनले रुंगटा परिवारमाथि प्रभावकारी अनुसन्धान गरेको छैन । गृहको निर्देशनपछि जिल्ला प्रशासनले एक पटक रुंगटालाई बोलाएर बयान लिएको थियो ।

प्रशासनले ३ वर्ष भन्दा बढी समय अनुसन्धानका नाममा बिताएर २०७९ साल असार १६ गते गृह मन्त्रालयमा चलानी नम्बर १५०३१ को पत्र पठाउँदै उनीहरुले भारतको नयाँ दिल्लीस्थित थ्री ए रंग रसायन रोहिनी सेक्टरको मतदाता नामावलीमा खोजी गर्दा उनीहरुको नाम नरहेको भन्दै गृहलाई जवाफ फर्काएको थियो ।

जिल्ला प्रसासनले भारतीय दूतावासले दिएको प्रमाण समेतलाई ध्यान नदिई तथा भारतको उनीहरुको भनिएको ठेगानामा पत्राचार समेत नगरी उनीहरुको नाम नदेखिएको जवाफ फर्काएको थियो । जिल्ला प्रशासनको यो पत्राचारपछि न त गृह प्रशासनले यो विषयमा ध्यान दिएको छ न त जिल्ला प्रशासन सप्तरीले नै ।

यो दोहोरो नागरिकता प्रकरणमा अझै अनुसन्धान भइरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । जिल्ला प्रसासनले गृह मन्त्रालयलाई लेखेको पत्रको जवाफ नआएको र यो मुद्दाको अनुसन्धान जारी नै रहेकाले थप कागजात सहितका जानकारी अहिले दिन नमिल्ने उनले बताए ।

दोहोरो नागरिकता सम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेकै अवस्थामा रुंगटा परिवारले अहिले राजविराजमा रहेको आफ्नो जग्गा जमिन बेच्ने कार्य सुरु गरेका छन् ।

एकातिर दोहारो नागरिकता सम्बन्धी मुद्दामा अनुसन्धानलाई मुल्तबीमा राख्ने र अर्कोतिर आफ्नो सम्पति बेच्न थालेपछि स्थानीयले आशंका गर्न थालेका छन् । दोहोरो नागरिकता समबन्धी मुद्दामा आरोपी रहेका पाँच जनामध्येका एक अंकितकुमार रुंगटाले आफूहरु दुई देशको नागरिक नरहेको दाबी गरे ।

Comment


Related News

Latest News

Trending News