अपडेट 
२०८० माघ २१, आईतवार ०८:०९

दिनानुदिन बढ्दै गएको बेरोजगारीको कारण वैदेशिक रोजगारमा खाडी मुलुक जानेहरुको संख्या बढ्दै गएको छ । श्रम तथा रोजगार कार्यालय जनकपुरबाट प्राप्त भएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशबाट कुल १ लाख ८० हजार ६ सय ५९ जनाले रोजगारमा खाडी मुलुक जान श्रम स्वीकृति लिएका छन् ।

मधेश प्रदेशबाट वैदेशिक रोजगारमा जानेहरुको संख्या कुल संख्याको २३.४२ प्रतिशत रहेको कार्यालयका सूचना अधिकारी कमल अर्चायले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा श्रम तथा रोजगार कार्यालय जनकपुरधामबाट नयाँ, पुरना तथा संस्थागत गरी करिव १७ हजारभन्दा बढीले श्रमस्वीकृत लिएको छ ।

नयाँ साढे तीन हजार, पुन स्वीकृत लिएका ७ हजार र म्यानपावरको माध्यमले वैदेशिक रोजगारमा जाने करिव ७ हजारले श्रम स्वीकृत लिएको उनले बताए । गत आर्थिक वर्षमा ७ लाख ७१ हजार ३ सय २७ जनाले वैदेशिक रोजगारका लागि श्रमस्वीकृत लिएका थिए । यो नयाँ तथा पुनः स्वीकृत लिएको संख्या हो । नयाँ श्रम स्वीकृति लिने ४ लाख ९४ हजार २सय २४ रहेका छन् । त्यसमध्ये मधेश प्रदेशमै सबभन्दा बढी धनुषा जिल्लाबाट वैदेशिक रोजगारमा गएको प्राप्त तथ्यांकले देखाएको छ ।

मधेश प्रदेशको आठ वटै जिल्लाको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९/८० मा धनुषाबाट ३९ हजार ५ सय ७६, पर्साबाट ७ हजार ८ सय ३१, महोत्तरीबाट २८ हजार ७ सय ७२, बाराबाट १६ हजार ६ सय १२, रौतहटबाट १५ हजार २ सय ९१, सिरहाबाट २९ हजार ५ सय ९५, सर्लाहीबाट २३ हजार ७ सय ३१ र सप्तरीबाट २१ हजार ५ सय ५९ गई जम्मा १ लाख ८० हजार ५ सय ५९ जनाले वैदेशिक रोजगारको लागि श्रमस्वीकृति लिएको सो कार्यालयले जनाएको छ । कुल ६१ लाख २६ हजार २ सय ८८ जनसंख्या रहेको मधेश प्रदेशबाट गत आर्थिक वर्षमा ३ हजार ३ सय ३९ महिलाले समेत श्रमस्वीकृति लिएका छन् ।

खास गरी मधेश प्रदेशमा बुहारीकी रुपमा भित्रिएपछि घुम्टो भित्र बस्नुपर्ने, चुल्होचौका गर्नु् पर्ने परम्परालाई तोड्दै ३ हजारभन्दा बढी महिला वैदेशिक रोजगारमा रहेको तथ्यांकले देखाउँछ । सीप बिना नै वैदेशिक रोजागरमा गएका महिलाहरु घरेलु कामदारको रुपमा काम गर्दै आइरहेकी छन् । उनीहरु कुनै सीपबिना नै म्यानपावरबाट वैदेशिक रोजगारमा जाने गरेका छन् ।

वैदेशिक रोजगारमा जानेसँग सरकारले तीन प्रकारको राजस्व उठाउने गरेको छ । सन २०२३ जनवरीदेखि अनलाइन फारम शुरु भएको छ । तर सरकारले कल्याणकारी कोषको नाउँमा प्रतिव्यक्ति १ हजार ५ सय, सामाजिक सुरक्षा कोषको नाउँमा २ हजार रुपैयाँ दस्तुर लिंदै आएको छ । बीमा रकम वापत ३५ वर्ष भएकासँग प्रतिव्यक्ति ३ हजार ७ सय ८, ३६देखि ५० वर्षसम्मका व्यक्तिबाट ४ हजार ९ सय ३१ र ५० भन्दामाथि उमेर भएका व्यक्तिसँग प्रतिव्यक्ति ९ हजार ४ सय ६९ रुपैयाँ लिंदै आएको छ ।

मधेश प्रदेशमा रोजगारीको सम्भावना नरहेको मधेश प्रदेशमा ८ सय १२ उद्योगहरु रहे पनि अधिकांश उद्योगमा भारतीय कामदारहरु रहेकाले नेपाली युवाहरु वैदेशिक रोजगारमा जान बाध्य भएका छन् । कुल ६१ लाख २६ हजार २ सय ८८ जनसंख्या रहेको मधेश प्रदेशबाट १ लाख ८० हजार ६ सय ५९ जनाले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएका छन् । आफ्नै गाउँठाउँमा उद्योग कलकारखाना भएको भए विदेश जानुपर्ने समस्या हुँदै नथियो पीडित युवाहरु बताउँछन् ।

सीप बिना नै वैदेशिक रोजागरमा गएका महिलाहरु घरेलु कामदारको रुपमा काम गर्दै आईरहेका छन् । उनीहरु कुनै सीप बिना नै म्यानपावरबाट वैदेशिक रोजगारमा गए पनि विदेशको भूमिका विभिन्न प्रकारका उत्पीडन तथा श्रम शोषणमा पर्ने गरेको अनेकन घटना संचारमाध्यमबाट सार्वजनिक हुने गरेको छ ।

Comment


Related News

Latest News

Trending News