अपडेट 
२०८० माघ २२, सोमबार ०८:१५

धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित औरही खोलाबाट भइरहेको अवैध उत्खनन रोक्न सरोकारवाला निकायले चासो नदेखाएपछि स्थानीवासी अग्रसर भएका छन् । स्थानीयवासीले आइतबार अवैध उत्खनन विरुद्धको सङ्घर्ष समिति गठन गरेर औरही खोलाबाट भइरहेको अवैध उत्खनन रोक्न अग्रसर भएका छन् ।

अवैध उत्खनन रोक्न स्थानीय तह, प्रहरी प्रशासन लगायत सरोकारवाला निकायले गम्भीरता नदेखाएपछि सरोकारवाला निकायलाई दबाब दिन संघर्ष समिति गठन गरेको स्थानीय गणेश महतोले बताए । खोला किनारमा रहेको क्रसर उद्योगी तथा गाउँका केही व्यक्तिले राति–राति जेसीबी, टिपर र ट्याक्टरको प्रयोग गरेर बालुवा, गिट्टीको उत्खनन गरिरहेको बताउँदै उनले प्रहरी प्रशासनकै मिलेमतोमा यो सब भइरहेको आरोप लगाए । यसबारे नजिकको प्रहरी कार्यालयमा जानकारी गराउँदा प्रहरीले उत्खनन गर्ने टोलीलाई खबर गरेर त्यहाँबाट भगाउने गरेको अर्का स्थानीय विनोद महतोले बताए । भागिसकेपछि मात्र खोलामा प्रहरी पुग्ने गरेको बताउँदै उनले प्रहरीले सूचना दिने व्यक्तिको नाम र मोबाइल नम्बरसमेत उत्खनन माफियालाई दिने गरेको आरोप लगाए ।उनले भने–‘केही दिनअघिको मात्र घटना हो ।

रातिको १२ बजे खोलाबाट अवैध उत्खनन भइरहेको थियो । त्यसको जानकारी नजिकैको प्रहरी कार्यालयमा गराएँ । जानकारी दिएको केही बेरमै उत्खनन माफियाका केटाहरू घरमै धम्काउन आइपुग्यो । अब भन्नुस् उनीहरूलाई कसरी थाहा भयो मैले फोन गरेको थिए भनेर ।’ एक्ला–एक्लै गरेर खोलाबाट हुने गरेको अवैध उत्खनन रोक्न नसकिने हुँदा स्थानीयवासी एकजुट भएर संघर्ष समिति गठन गरिएको बताउँदै उनले रोकथाम गर्न सरोकारवाला निकायमा दबाब सिर्जना गर्न पत्राचार गर्ने र कुनै सुनुवाइ नगरे विरोध प्रदर्शन गरिने जानकारी दिए ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले अवैध उत्खनन कार्य रोक्न प्रहरी सक्रिय रहेको बताए । उनले छ महिनाको अवधिमा अवैध उत्खननमा प्रयोग भएका दुई सयभन्दा बढी ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जानकारी दिए । सोही औरही खोलामा २०७६ पुस २५ गते क्रसर तथा उत्खनन माफियाविरुद्ध बोल्दा श्रीपुरका दिलीप महतोको हत्या भएको थियो । सो घटनापछि क्रसर माफियाविरुद्ध आवाज उठाउन पनि स्थानीयवासी डराउन थालेका छन् ।

Comment


Related News

Latest News

Trending News