अपडेट 
२०८० माघ २२, सोमबार १५:५४

आरती साहको न्याय माग गर्दै आन्दोलनरत आमा निर्मलादेवी र भाइ प्रेमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार दिउँसो सिंहदरबार छिर्न खोजेका निर्मलादेवी र प्रेमलाई प्रहरीले गेटबाट नियन्त्रणमा लिएको हो। उनीहरूले गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न जाने बताएका थिए। उनीहरूले आफूहरूसँग पास भएको दाबी गरेका छन्। प्रहरीले जान नदिएपछि उनीहरूले नाराबाजी समेत गरेका थिए।

प्रहरीले भने मन्त्रालयमा समन्वय गर्नुपर्ने हुनाले केहीबेर कुर्न भनेपछि विरोध गर्न थालेको बताएको छ। अहिले दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखेको छ।

गत मंसिरमा सर्वोच्च अदालतले आरती साहको मृत्यु भएको घटनामा श्रीमान मोतिबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

अर्का प्रतिवादी (आरतीका ससुरा) मदन मोहन साहलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको छ। जेठ ७ गते जनकपुर उपमहानगरपालिका-८ स्थित श्रीमानको घरमा आरती मृत फेला परेकी थिइन्। घटनापछि माइतीपक्षले उनका श्रीमान र ससुराविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका थिए।

जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले मोतीबाबु र मदनमोहनलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो। जाहेरीपछि आरतीका श्रीमान र ससुरालाई नियन्त्रणमा लिएर धनुषा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

असार ३ गते भएको थुनछेक बहसपछि जिल्ला अदालत जनकपुरले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्चले मुद्दामा प्रमाण नपुगेको भन्दै जिल्ला अदालतको आदेश उल्टाएको हो।

उच्च अदालतको आदेशविरूद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन निवेदन दिएको थियो। सोही निवेदनमा सर्वोच्च अदालतले बुधबार सुनुवाइ गरेको थियो। सुनुवाइपछि आरतीका श्रीमानलाई थुनामा र ससुरालाई धरौटीमा छाड्न आदेश दिएको थियो।

अदालतको आदेशपछि पनि आरती साहका परिवार काठमाडौंस्थित शान्ति बाटिकामा धर्ना दिँदै आएका छन्।

Comment


Related News

Latest News

Trending News