अपडेट 
२०८० माघ २३, मंगलवार ०८:१६

सिर्सिया सुक्खा बन्दरगाह परिसरमा करिब ५ वर्षदेखि थन्किएका कन्टेनरहरुबाट बरामद सुपारी, पोस्तादाना लगायतका बस्तु बन्दरगाह भन्सार कार्यालयले लिलामीको तयारी गरेको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार बरामद भएका सुपारी, पोस्तादाना, फिड सप्लिमेन्ट, सिलाई मेसिन, इण्डष्ट्रियल साल्ट, अटोपार्ट्स् लगायतका बस्तुहरुको लिलामी प्रक्रिया अघि बढाइएको छ । ‘कन्टेनरबाट बरामद भएकामध्ये खान लायक तथा प्रयोग गर्न लायक बस्तुहरु लिलाम गर्न थालिएको हो,’ उनले भने, ‘सबै बस्तुको लगत तयार गरी लिलामीको सूचना यसै साताभित्र प्रकाशित गर्ने गरी गृहकार्य गरिरहेकाछौँ ।’

मैनालीका अनुसार बरामद भएका कन्टेनरहरुबाट लिलाम योग्य ३ लाख ४८ हजार किलो सुपारी, १ लाख ६७ हजार ६ सय किलो पोस्तादाना बरामद भएको छ । सुपारीको मूल्य करिब १४ करोड र पोस्तादानाको मूल्य करिब २४ करोड १९ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ । लिलामी प्रक्रियाका लागि मैनालीकै अध्यक्षतामा एक मुल्यांकन समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि र सवारी साधनको हकमा एक मेकानिकल इन्जिनियर समेत रहने छन् । समितिको बैठक सोमबार बसेर मंगलबार देखि काम सुरु गर्ने योजना रहेको उनले बताए । समितिले सबै बस्तुको मूल्यांकन गरी सकेपछि ती बस्तु लिलामी प्रक्रियामा लगिने छ । झण्डै ५ वर्ष अघि देखि आयातकर्ताले नलगेर बन्दरगाह परिसरमा थन्किएको ३ सय ९१ वटा मालबाहक कन्टेनरमा रहेका मालबस्तु व्यवस्थापन गर्ने प्रयास स्वरुप सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले मंसिर १० गते ७ दिने सूचना प्रकाशित गरी आयातकर्ताहरुलाई सम्पर्कमा आउन आह्वान गरेको थियो । तर अधिकांश आयातकर्ता सम्पर्कमा आएका थिएनन् । त्यसपछि भन्सार कार्यालयले नियमपूर्वक कन्टेनरको शिल तोडेर तिनमा रहेका मालबस्तुको अवस्था यकिन गरेको थियो ।

सामान्यता भन्सार परिसरमा मालबस्तु भित्रिएको ६० दिन भित्र पनि आयातकर्ताले आफ्नो मालवस्तु जाँचपास गरी नलगे त्यस्ता वस्तु लिलाम प्रक्रियामा लग्न सकिने प्रावधान भन्सार ऐन २०६४ मा रहेको छ । आयातकर्ताले जाँचपास प्रक्रियाका लागि घोषणा नगरी बन्दरगाह परिसरको दक्षिण पूर्वी कुना तथा मध्य भागमा राखेका कन्टेनरहरु थोत्रो हुदै गएका थिए ।

केही कन्टेनरमा खिया लागेर कन्टेनरमा रहेको केराउ लगायतका मालवस्तु कन्टेनर बाहिरै पोखिएको थियो । कन्टेनर विधिपूर्वक खोल्दा कतिपय कन्टेनरमा रहेका मालवस्तु कुहिएर नष्ट भइसकेका थिए । प्रायः केराउ, छोहडा आदि खाद्यान्न वस्तु कुहिएर प्रयोग गर्न नसकिने अवस्थामा पुगिसकेका थिए ।

Comment


Related News

Latest News

Trending News