अपडेट 
२०८० माघ २३, मंगलवार ०८:१९

सप्तरीको राजगढ गाउँपालिकामा भइरहेको कर्मचारी नियुक्तिमा व्यापक चलखेल गरिएको स्थानीयबासीले आरोप लगाएका छन् ।

गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डल र कृषि प्राविधिक रामविलास यादवले आफ्ना नातागोतालाई कर्मचारी नियुक्त गर्न चलखेल गरेको स्थानीयहरुले अरोप लगाएका छन् । आफान्तलाई कर्मचारी नियुक्त गर्न केही कर्मचारीसंगको मिलोमतोमा अध्यक्ष मण्डलले कर्मचारी नियुक्ति प्रक्रिया विपरीत गोप्य सूचना निकालेको स्थानीय पशुपति यादवले आरोप लगाए ।

गाउँपालिकाले विभिन्न ३ पदमा ७ जना कर्मचारी नियुक्त गर्न खोजेको बताउदै उनले कर्मचारी नियुक्तको सूचना कुनै पनि पत्रपत्रिकामा प्रकाशित नगरी पालिकाको वेबसाईटमा मात्र सूचना निकालेको जानकारी दिए । अध्यक्ष मण्डल र कृषि प्राविधिकले आफ्ना आफान्तहरुलाई सबैपदमा नियुक्त गर्न सेटिङ मिलाएर परीक्षाको तयारी गरिरहेको उनले आरोप लगाए ।

राजगढ गाउँपालिका १ का मुकेश यादवले राम्रालाई भन्दा हाम्रालाई कर्मचारी नियुक्त गर्न गाउँपालिका अध्यक्ष नै लागि परेको आरोप लगाए । उनले विधि प्रक्रियालाई नै उल्लंघन गरी थालिएको कर्मचारी नियुक्त निष्पक्ष हुनेमा शंका व्यक्त गरे । उनका अनुसार कृषि स्तानक प्राविधिकमा १ जनाको कोटामा ६ जना, पोषण स्वयंसेवकमा १ जना कोटामा ९ जना र अनिमी ५ जनाको कोटामा ३१ जनाको निवेदन परेको छ । ती मध्ये सेटिङमा अध्यक्ष र कर्मचारीको आफन्तहरु नियुक्त हुने सुनिश्चित गरी परीक्षाको नाटक गरेको उनको आरोप छ ।

यसबाट योग्य कर्मचारी नियुक्ति नहुने भएकोले परीक्षा प्रणालीलाई पारदर्शी बनाएर खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्नुपर्ने उनको भनाइ छ । राजगढ गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डलले आफूमाथि लगाएको आरोप निराधार रहेको बताउदै परीक्षा पारदर्शी रुपमा हुने बताए । “पालिकामा यस्ता आरोपहरु धेरै लगाउँछन्, अहिले कर्मचारी नियुक्त त भइसकेको छैन, उनले भने,परीक्षामा पास गर्ने उम्मेदवारलाई नियुक्त गर्छौ, पालिकामा सिसि क्यामरा छ, यस्तो चलखेल केही हुन पाउँदैन ।“ कर्मचारी नियुक्तिको लागि मंगलबार लिखित परीक्षा लिइने अध्यक्ष मण्डलले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News