अपडेट 
२०८० माघ २३, मंगलवार ०८:२४

आफूहरुलाई उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै त्यसमा सुधारको मागसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका उपमेयर, वडाअध्यक्ष तथा वडा सदस्यले सोमबार नगरपालिकाको फाँट–फाँटमा गई ध्यानाकर्षण पत्र बुझाएकी छन् ।

उपमेयर सरिता देवी यादवको नेतृत्वमा पुगेको टोलीले नगरपालिकाको प्रशासन, लेखा, योजना, प्राबिधिक, जिन्सी, सामाजिक विकास, महिला विकास लगायतका फाँटमा पालैपालो ध्यानाकर्षण पत्र बुझाएका छिन् ।

पाँच वटा वडाध्यक्ष तथा २५ जना वडा सदस्यसहित पुगेको आफ् नो नेतृत्वको टोली पत्र बुझाउन जाँदा मेयर वीरेन्द्र माझीले आफू कार्यपालिकाको बैठकमा ब्यस्त रहेको र बैठकसकिएपछि मात्र समय दिने बताएपछि फाँट–फाँटमा गइ ध्यानाकर्षण पत्र बुझाउन बाध्य भएको उपमेयर यादवले बताइन् । प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी लेखिएको ध्यानाकर्षण पत्रमा नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण हुँदा आफूहरुलाई पूर्णवेवास्ता गर्ने गरेको आरोप लगाउँदै त्यस्ता कार्य तत्काल बन्द गरी नगरको नीति तथा कार्यक्रम र बजेट स्थानीय सरकार सञ्चालन ऐन बमोजिम तथा पारदर्शी हुनुपर्ने माग गरिएको छ ।

पत्रमा २०८० साल असोज १९ गतेको कार्यपालिकाको बैठकले बजेट सिलिङको विषयमा छलफल हुँदा योजना तर्जुमा दिग्दर्शन तथा स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए बमोजिम विभिन्न क्षेत्रका लागि बजेट विनियोजन गर्नुका साथै वडा सिलिङ कायम गरिएकोमा सो विपरीत वडा सिलिङमा समेत विभेद गरिएको आरोप लगाइएको छ ।

पत्रमा वडा सिलिङमा विभेद हुने गरी ६ करोड ७० लाख विनियोजन गरिएको तथा थप १३ करोड बजेट बिनियोजन गर्दा आफूहरुसँग कुनै छलफल न गरी मनपरी ढंगले छुट्टयाइएको उल्लेख गरिएको छ । यस्तै पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरी स्थानीय तहको योजना तर्जुमा गर्दा ऐनले निर्दिष्ट गरे बमोजिमको प्रावधान गर्नु भनी उल्लेख भए पनि बहुमतका आधारमा मेयर माझीले मनपर्दी अघि बढ्न खोजेको गुनासो गरिएको छ ।

महालेखापरीक्षक कार्यालय काठमाण्डु, जिल्ला प्रशासन कार्यालय सप्तरी तथा हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न फाँटलाई बोद्धार्थ दिइएको उक्त पत्रमा मेयर माझीको कार्यशैलीप्रति विमति जनाउँदै फागुन १५ गते भित्र समस्याको समाधान नगरिए संघर्षका सशक्त कार्यक्रमहरुका साथ अघि बढ्ने चेतावनी दिइएको छ ।

मेयर माझी जनमत पार्टीबाट तथा उपप्रमुख यादव जसपाबाट स्थानीय चुनाव जितेका छन् । नगरपालिका बोर्डमा कुल ७९ जना रहेकोमा ३२ जना अहिले विपक्षमा देखिएका छन् ।

Comment


Related News

Latest News

Trending News