अपडेट 
२०८० माघ २३, मंगलवार ०९:४९

नापी कार्यालयका कर्मचारी सवार बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने कैयौँ घाईते भएका छन् ।

सोमबार साँझ सर्लाही सदरमुकाम मलंगवा नजिक नापी कार्यालय सर्लाहीका कर्मचारी सवार भारतीय बोलेरो गाडी ट्रयाक्टरसँग ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो।

दुर्घटनामा घाइते भएका सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गएराति मृत्यु भएको छ।

उनको वीरगञ्ज नजिक रहेको एनएस न्युरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ। घिमिरे नापी कार्यालयका कर्मचारी हुन् कि होइनन्, प्रहरीले खुलाएको छैन। तर, जिपमा सवार अधिकांश कर्मचारी भएका अनुमान प्रहरीको छ।

सोमबार साँझ बीआर ०६ पिडी ९६४८ नम्बरको जिप ९बोलेरो० मलंगवा नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ज १ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा दुर्घटनामा परेको हो।

बोलेरो मलंगवाबाट नवलपुरतर्फ आउँदै गर्दा उखु बोकेको ट्याक्टरको पछाडि ठोक्किएको प्रहरीले जनाएको छ। ट्याक्टर उखु लिएर सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगतर्फ जाँदै थियो।

दुर्घटनामा जिप (बोलेरो) का चालक मलंगवा ३ का रामलाल साह पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (DSP) दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए।

दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते भएका छन्।

गम्भीर घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज लगिएको थियो। ‘नापी प्रमुख मानन्धरको अवस्था पनि गम्भीर छ,’ डीएसपी पञ्जियारले भने, ‘उहाँसहित गम्भीर अवस्थाका चार जनाको एनएस अस्पतालमा उपचार भइरहेको छ।’ मानन्धर काभ्रेको बनेपा उपमहानगरपालिकाका स्थायी बासिन्दा हुन्।

एकजना घाइतेको भने मलंगवामै उपचार भइरहेको प्रहरीले जनाएको छ। मलंगवाबाट उपचारको लागि बाहिर पठाइएका धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अहिले एनएस अस्पताल बारामा पाँचजना, वीरगञ्जस्थित बयोधा अस्पतालमा २ जना र तिरुपति अस्पतालमा एक जनाको उपचार भइरहेको छ। एक जना घाइतेको भने कहाँ उपचार भइरहेको छ प्रहरीले आफूलाई जानकारी नभएको भनेको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन्। ट्याक्टरका मालिकलाई प्रहरी कार्यालयमा बोलाइएको डीएसपी पञ्जियारले बताए। घटनाका सम्बन्धमा अप अनुसन्धान जारी रहेको उनको भनाई छ।

Comment


Related News

Latest News

Trending News