अपडेट 
२०८० माघ २४, बुधबार ०८:१६

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले फागुन महिनामा संघीय राजधानी काठमाण्डुमा प्रदर्शनको तयारी गरेका छन् । लोसपाको विभाजनलाई ओझेलमा छाडेर महतोले राष्ट्रिय मुक्ति अभियानलाई अगाडि बढाएका छन् ।

काठमाण्डुमा शान्तिपूर्ण प्रदर्शनको तयारीमा रहेका महतोले सामूहिक नेतृत्वको विकास र बहुल राष्ट्रको अवधारणा अनुरुप अभियानलाई अगाडि बढाइने सहमति नेतृत्व तहमा भएको बताइएको छ ।

बहुल राष्ट्रको पक्षमा ५ वर्षदेखि नै तयारी भइरहेको महतोका वरिष्ठ सहयोगी राजीव झाले बताए । ‘खस आर्यको एकल राष्ट्रवादको विरोधमा बहुल राष्ट्रको स्थापना आवश्यक रहेको छ’ झाले भने– ‘देशभरिका शोषित, पीडित, आदिवासी, जनजाति, मधेशी, मुसलमानहरुलाई एकजुट बनाउन अभियान सञ्चालन गर्न लागिएको छ ।’ लोसपा पार्टी विभाजन नभइ डुब्ने बताउँदै झाले भने–‘देशमा भएको मधेश आन्दोलनमा पराजित हुनुको कारणलाई केलाउँदै थालिएको अभियानले देशमा शान्तिपूर्ण र सफल क्रान्ति ल्याउनेछ ।’

नेता महतो एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको सपथ ग्रहण पछि सञ्चारकर्मीहरुसितको भेंटमा बहुल राष्ट्रको स्थापनाको विषयमा अभिव्यक्ति दिँदा विवादमा तानिएका थिए । त्यस बखत अभियानको तयारी सुरु भइसकेको नेता झाले बताए ।‘लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई सरकारबाट फिर्ता भएर बहुल राष्ट्र स्थापनाको अभियानमा लाग्न आग्रह गरिएको थियो’ उनले भने–‘तर ठाकुर सत्तामोहमा परेकाले उनी मधेशी जनताको भावनालाई सम्मान गरेनन् ।’

अभियानका अगुवा नेता महतोको एकल नेतृत्वमा संगठन नचल्ने झाले बताए । ‘देशलाई सांगठिनक रुपमा तीन कमाण्डमा विभाजन गरी कमाण्डर राखिनेछ’ उनले भने–‘सामूहिक नेतृत्वको आधारमा नै काम गर्न कमाण्डरलाई सर्वाधिकार सम्पन्न बनाइनेछ ।’ महतोले नेतृत्व गर्ने अभियान तत्कालै पार्टीमा परिणत नहुने उल्लेख गर्दै उनले भारतीय जनता पार्टी(भाजपा)को संगठनात्मक संरचनाको आधारमा संरचना बनाइने बताए । अभियानसित लोसपाका अधिकांश नेता, कार्यकर्ता जोडिने दाबी गर्दै महतो निकटका नेताहरुले जनता समाजवादी पार्टी(जसपा), नेपाली कांग्रेस, जनमत पार्टीका नेताहरु पनि ठूलो संख्यामा जोडिने दाबी गरेका छन् ।

भारतमा भाजपा बाहेकका दलहरु परिवारमा अल्झेको आरोप लाग्दै आएको छ । तर महतो पनि सो आरोपबाट हाल सम्म मुक्त भइसकेका छैनन् । सामूहिक नेतृत्वकै आधारमा नयाँ संगठन अगाडि बढने अभियानमा सम्बद्ध नेताहरुको दाबी छ । मधेश आन्दोलन पूर्व नेपाल सद्भावना पार्टीमा रहेका नेता महतो गजेन्द्र नारायण सिंहको निधनपछि पार्टी फुटाएर सद्भावना पार्टी गठन गरेका थिए । संविधान सभा चुनावमा नराम्ररी पराजित भएपछि ६ वटा दल मिलेर सामूहिक नेतृत्वको अभ्यास गर्दै राष्ट्रिय जनता पार्टी(राजपा) गठन गरेका थिए ।

२/२ महिना अध्यक्ष रहने चक्रिय प्रणाली लागु गरिए पनि राजपाले संगठनात्मक स्वरुप ग्रहण नगर्दै तत्कालीन संघीय समाजवादी पार्टीसित एकीकृत भएको थियो । जसपामा सामूहिक नेतृत्वको असफल अभ्यासपछि विभाजित भएर लोसपा गठन हुँदा महतो वरिष्ठ नेता चयन भएका थिए । कार्यकारी अधिकार सहित नेतृत्व चाहेका महतोलाई लोसपा अध्यक्ष ठाकुरले उपेक्षा गर्न थालेपछि आफ्नै अगुवाईमा बहुल राष्ट्र स्थापनाको नारा सहित अगाडि बढेको बताइन्छ ।

नेता महतो निकटका नेताहरु लोसपाको कार्यक्रमहरुमा सहभागी हुन छाडेका छन् । तर उनीहरुले पार्टी भने परित्याग गरेका छैनन् । महतो स्वयंले पनि वरिष्ठ नेताबाट राजीनामा नदिए पनि अध्यक्ष ठाकुरसित बोलचाल नभएको २ महिना भन्दा बढि भइसकेको छ ।

Comment


Related News

Latest News

Trending News