
सिरहाको लहान नगरपालिका—२४ का कृषक रतन साहले विभिन्न रङ र फरक स्वादका काउली फलाएका छन्। उनले उत्पादन गरेको बैजनी र पहेँलो रङका आकर्षक काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ ।
‘सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेको थिएँ। स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाएँ। परीक्षणका लागि पाँच धुर जग्गामा लगाएँ। राम्रो उत्पादन भयो। बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी लगाउने विचार गरेको छु,’ उनले भने।
उनले एक किलोसम्मको काउली फलाएका थिए।
‘यसको रङ र स्वाद फरक भएकाले बजारमा पुर्याउनसाथ बिक्री हुन्छ। यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,’ किसान साहले भने, ‘आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने सोचमा छु।’