![](https://ejanakpurtoday.com/wp-content/uploads/2024/02/prakash-sharan-mahat-e1707280300654.jpg)
अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताएका छन् ।
बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिनेहरूका लागि केही सहज भएको र यो राहतलाई हेरेर ऋणीहरूले ऋण तिर्नुपर्ने बताए । माफी गर्न सक्ने आर्थिक श्रोत देशको नरहेकाले ऋण माफी नहुने बताए ।
केही मानिसहरू राजनैतिक निहित उद्देश्य लिएर तिर्नुपर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै यस्तो प्रवृत्तिको पछि लाग्नु आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर भएको टिप्पणी गरे ।
उनले अहिले सहकारीको रूप नै नरहेको जिकिर गर्दै अनुगमन नभएकै मौका उठाएर केही सञ्चालकहरूले दुरुपयोग गरेको बताए ।
अर्थमन्त्री महतले बैंकको जस्तो कारोबार गर्ने वित्तीय संस्थाहरु सहकारी हुन नसक्ने बताए । ठूलो कारोबार गर्ने सहकारीहरूलाई राष्ट्र बैंकको मातहतमा ल्याइने बताए । सहकारी मर्ज गर्ने हो भने राष्ट्र बैंकको वित्तीय संस्थाको रूपमा जानुपर्ने बताए ।
उनले बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए । उनले विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने बताए ।
अर्थमन्त्री डा. महतले आफूले आएर काम गरेपछि शेयर मार्केट १८ सयबाट अहिले २१ सय भन्दा माथि पुगेको दाबी गरे ।