अपडेट 
२०८० माघ २५, बिहीबार ०९:४८

सप्तरीको राजविराज नगरपालिकाले सडक बत्तीको लागि विजुलीको सामान खरिदमा मनपर्दी गरेको खुलासा भएको छ ।

नगरपालिकाले कमिसनको प्रलोभनमा नियम विपरीत टुक्रा– टुक्रा पारी लाखौंको विजुलीको सामान खरिद गरिएको पाइएको छ । नगरपालिकाले विभिन्न पाँच फर्म तथा कम्पनीबाट नियम विपरीत विजुलीको सामान खरिद गरेकोले ३८ लाख २ हजार ५ सय ३४ रुपैया बेरुजु ठहर भएको छ ।

नगरपालिकाले आर के ईन्टरप्राईजेजसंग ९ लाख २० हजार ३ सय ५६, ८ लाख १७ हजार ४ सय ४२ र ४ लाख ९८ हजार ७ सय २५ को तीन पटक गरि १९ लाख ३६ हजार ५ सय २३ रुपैयाँ तथा आयुस ट्रेडर्स एण्ड सप्लायर्स १० लाख ६७ हजार २ र ४ लाख ९९ हजार ८ को दुइपटक गरि १५ लाख ६६ हजार १० रुपैयाँको सिलवन्दी दरभाउ पत्र तथा कोटेशनको आधारमा टुक्रा–टुक्रा गरेर विजुलीको सामान खरिद गरेको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ । “सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८( २) मा खरिद कार्य गर्दा प्रतिस्पर्धा सिमित हुने गरि टुक्राटुक्रा पारी खरिद गर्न नहुने व्यवस्था छ ।

महालेखाको प्रतिबेदनमा भनिएको छ–‘ नगरपालिकाले सडक बत्तीको लागि विजुलीको सामान खरिद गर्न विभिन्न प्याकेज बनाई माथि उल्लेखित फर्म/कम्पनीबाट टुक्राटुक्रा पारी खरिद गरेको देखिएको छ ।’ नगरपालिकाले सडक बत्तीको लागि समान खरिद बापत लाखौं बजेट भुक्तानी गरे पनि सडकमा बत्ती भने जडान नगरिएको भन्दै जनप्रतिनिधिहरु बीच नै विवाद उत्पन्न हुन थालेको छ ।

कामै नगरी ५० लाख भुक्तानी गरेको तथा थप ३४ लाख भुक्तानीको तयारी गरेकोले आफूले रोक्न खोज्दा विवाद गर्न खोजिएको एक जनप्रतिनिधिले बताए । उनका अनुसार ३४ लाख रुपैयाँको भुक्तानीको तयारीमा रहेको फायल अख्तियारले नियन्त्रणमा लिएको छ । राजविराज नगरपालिकाका नगर प्रवक्ता जय नारायण मण्डलले गत बर्षको ५० लाख नगरपालिकाले भुक्तानी दिएको बताए ।

वडा नम्बर ८ का अध्यक्ष समेत रहेको प्रबक्ता मण्डलले आफ्नो वडामा समेत केही भेपरलाईट नगरपालिकाले पठाएको बताए । कति सामान गरिद गरी कसलाई दियो तथा सो वापतको भुक्तानी बारे आफूलाई केही जानकारी नगराउने गरेकाले यस सम्बन्धमा के–हुदैछ भन्ने बारे आफूलाई कुनैकुरा थाहा नभएको उनले बताए । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङले आफू हाजिर हुनुभन्दा पहिलेनै विभिन्न फर्म/कम्पनीको नामबाट सामान खरिद गरेको भन्ने सुन्नमा आएको बताए ।

उनले अहिले थप ३४ लाख रुपैयाँ सडक बत्तीको विजुलीका सामान खरिद वापत भुक्तानीको लागि भनिए पनी उक्त फायल अख्तियारले झिकाएकोले अख्तियारलाई बुझाइएको बताए । सडकमा बत्ती जडान भए– नभएको सम्बन्धमा आफूलाई थाहा नभएको तथा यसमा आफ्नो कुनै संलग्नता समेत नरहेको उनले दाबी गरे ।

Comment


Related News

Latest News

Trending News