अपडेट 
२०८० माघ २६, शुक्रबार ०६:४९

सत्तारुढ गठबन्धन दलका नेताहरुले सातवटै प्रदेशमा सरकार फेर्ने संकेत दिएका छन् । गठबन्धन दलका शीर्ष नेताहरुको बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आलोपालोको सहमतिलाई कार्यान्वयन गर्न नेताहरुले जोड दिएका छन् ।

हाल सात प्रदेश मध्ये नेपाली कांग्रेसको ४ वटा प्रदेश, नेकपा माओवादी केन्द्रको २ वटा प्रदेश र जनता समाजवादी पार्टी नेपालको एउटा प्रदेशमा नेतृत्व रहेको छ । मधेश प्रदेशमा सरकारले विश्वासको मत लिने विषयमा केन्द्रित गठबन्धनको बैठकमा नेताहरुले सरकारको नेतृत्व फेरिनुपर्ने माग गरेको स्रोतले जनाएका छन् ।

स्रोतका अनुसार आलोपालोको सहमति अनुसार सरकारको नेतृत्व फेरिनुपर्ने तर्क नेताहरुले गरेका थिए । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल , लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, मन्त्री शरतसिंह भण्डारी, जनमुक्ति पार्टीकी नेतृ एवं भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठलगायत गठबन्धनमा रहेका दलका नेताहरुको सहभागिता रहेको थियो । बैठकमा जनमत पार्टी भने सहभागि थिएनन् । ‘मधेश प्रदेशका नेताहरुले सरकारको नेतृत्व परिवर्तनको माग गरेका थिए’ बैठकमा सहभागी एकजना नेताले भने, तर प्रधानमन्त्री प्रचण्डले सबै प्रदेशको नेतृत्व परिवर्तन एकै पटक प्याकेजमा गर्ने जवाफ दिएका थिए ।

सरकारको नेतृत्व परिवर्तन गर्दा कांग्रेस र माओवादीलाई नेता चयन गर्न धेरै समस्या नपर्न सक्छ । तर जसपालगायतका मधेश केन्द्रित दलहरुलाई मधेश प्रदेश बाहेकको प्रदेशमा सरकार बनाउन सभासद नै छैनन् । मधेश प्रदेशमा कांग्रेस र माओवादीले पनि दावी गरेका छन् । मधेशमा माओवादी अथवा कांग्रेसले सरकारको नेतृत्व पाए जसपाको नेतृत्व कुनै प्रदेशमा रहने छैन । स्रोतका अनुसार बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित रहेकाले बिभिन्न विषयहरुमाथि छलफल भएपनि कुनै निर्णय भने हुन सकेन ।

जसपा अध्यक्ष यादव बुधवारदेखि मधेश प्रदेशमा रहेकाले बैठकमा अनुपस्थित रहेको बताइएको छ । गठबन्धनको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्री र अर्थमन्त्रीप्रति आक्रोश व्यक्त गरेका थिए । स्वतन्त्ररुपमा काम गर्न नदिएको जनाउँदै नेता यादवले अप्रत्यक्ष रुपमा सरकारको नेतृत्व परिवर्तन गर्ने धारणा राखे ।

बैठकमा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको स्रोतले जनाएका छन् । सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप उनले लगाएको स्रोतले जनाए । तर नेकपा एसका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपानेले वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्ने बताउँदै बजेट ल्याएको सरकारलाई बजेट चलाउन दिनुपर्नेमा जोड दिएका थिए । लोसपाकी प्रदेशसभा सदस्य रानी शर्माले पनि सरकारप्रति असन्तुष्टि जनाइन् ।

मुख्यमन्त्री यादवले गठबन्धन दलको बैठक बस्न केही ढिलो भए पनि आफ्नो कार्यालयमा बजेट नराखिएको र सबै मन्त्रीलाई काम गर्ने पूर्ण स्वायतता दिएको बताएको एकजना सहभागिले जनाए । गठबन्धनको सहमति बेगर कुनै काम नगरेको र सबै निर्णय मन्त्रिपरिषद्बाट नै भएको मुख्यमन्त्रीले दावी गरेको स्रोतले जनाए ।

मुख्यमन्त्री यादवलाई नै विश्वासको मत दिने र सरकारको कमी कमजोरी सुधार गर्ने विषयमा सहमति भएको बैठकमा सहभागी जसपाका नेता एवं प्रदेश सभासद मनिष सुमनले बताए । ‘मधेश प्रदेशमा सरकार परिवर्तनको कुनै संभावना छैन्’ उनले भने, जसपाकै नेतृत्वमा पाँच वर्ष सरकार चल्ने छ । कांग्रेसको महासमिति बैठक हुनु अगावै पुनः शीर्ष नेताहरु बस्ने उनले बताए ।

Comment


Related News

Latest News

Trending News