अपडेट 
२०८० माघ २६, शुक्रबार ०७:१७

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको बहुमत सरकारले मात्र देश विकास गर्न सक्ने बताएका छन् ।

एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनको बिहीबार गरुडाको श्रीराम सुगरमिलको मैदानमा आयोजित उद्घाटनसत्रमा पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गठबन्धनको सरकारबाट देशको विकास सम्भव नरहेको बताए । उनले मिसन २०८४ लाई ध्यानमा राख्दै पार्टीको आन्तरिक एकता कायम गरेर, पार्टीको संगठन विस्तार गरेर पार्टीको नेता तथा कार्यकर्ताहरू जनताको माझमा जान आग्रह गरे । उनले जनतालाई विभिन्न तत्वले भ्रमित पार्न सक्ने भएकाले त्यस्ता भ्रमबाट मुक्त गरेर जनताको इच्छा आकांक्षा पूरा गरी ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्नतर्फ कार्यकर्तालाई काम गर्न निर्देशन दिए ।

अध्यक्ष ओलीले आफ्नै पूर्वसहकर्मी माधवकुमार नेपालको आलोचना गर्दै उनले अर्को चुनावमा माधव नेपालको राजनीति समाप्त हुने जिकिर गरे । उनले भने, ‘आफ्नो घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै हिँडेका माधव नेपाललाई गठबन्धनले उपेक्षा गरेर घरका न घाटका बनाएका छन्’, अध्यक्ष ओलीले अघि थप्दैँ भने, ‘पार्टी विरोधी, सुशासनविरोधी तथा भ्रष्ट तत्वहरुको मतियार भएर तिनको सहयोगी भएर तिनको पछि पछि हिँडेका कारण माधव नेपालको यस्तो गति भएको हो ।’ पूर्वअध्यक्ष नेपालप्रति इंगित गर्दै एमालेले १५ वर्षसम्म पार्टी प्रमुख बनाएका व्यक्तिले पार्टीकै सरकार ढालेर कांग्रेसको सरकार बनाउन सहयोग गरेको भन्दै ओलीले आलोचना गरे । उनले भने, ‘नेकपा एमालेले १५ वर्ष पार्टीको प्रमुख बनायो, प्रधानमन्त्री बनायो तर उनले दुई तिहाइको अवस्थामा पुगेको पार्टीको सरकार ढालेर कांग्रेसको पाउमा लगेर सरकार बुझाउने व्यक्ति माधव नेपाल हुन् ।’

सत्ता गठबन्धनका कारण देशको दुर्दशा भएको भन्दै उनले सरकारका कारण विकासका आयोजनाहरुले गति लिन नसकेको आरोप लगाए । एमाले सरकारमा हुँदा थालिएका विकास निर्माणका आयोजनालाई ठप्प पारेको अहिलेको गठबन्धनको सरकारले कुनै नयाँ काम नगरेकोमा बताउँदै अध्यक्ष ओलीले अरूलाई रिझाउने होइन, नेपाललाई आवश्यक पर्ने सबै योजना सञ्चालनमा ल्याउनुपर्ने बताए ।

कार्यक्रमस्थल श्रीराम सुगर मिल्स सञ्चालनका लागि आफू प्रधानमन्त्रीसँग कुरा गरेर यहाँ बन्द रहेका उद्योग कलकारखानालाई सञ्चालनमा ल्याइ सयौँ बेरोजगार युवालाई रोजगारीको व्यवस्थापन गराउने स्पष्ट पार्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारको समयमा वैदेशिक रोजगारीमा जानेको संख्यालाई घटाएको दाबी गरे।

उद्घाटन सत्रमा एमालेका सचिव योगेश भट्टराई, पोलिटब्युरो सदस्यसमेत रहेका कोशी प्रदेश प्रमुख रघुवीर महासेठ, पोलिटब्युरो सदस्य ज्वाला साह, केन्द्रीय सदस्य अजयकुमार गुप्ता, पूर्व सांसद रेखा झालगायतकाले जिल्ला अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

Comment


Related News

Latest News

Trending News