
सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रिय स्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्वलन गरिनेछ ।
सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना गर्ने र उक्त समारोहमा निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी सार्वजनिक तथा सामुदायिक संघ–संस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्ध–प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारण समेतको उपस्थितिका लागि आमन्त्रण गर्ने बैठकको निर्णय छ ।
बैठकले रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट प्रजातन्त्र दिवसका अवसरमा जागरण गीत प्रसारण गर्ने र अन्य रेडियो, एफएम तथा टेलिभिजनहरूलाई समेत प्रसारणका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका कार्यक्रमसमेत स्वीकृत गरेको छ । विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा आगामी फागुन ६, ७ र ८ गते कार्यालयको छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने मूल समारोह समितिले निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट गौरवमय मौलिक पहिचान तथा विशेषता झल्कने विद्युतीय प्रचार सामग्री समूचित प्रचार–प्रसारका लागि परराष्ट्र मन्त्रालय मार्फत विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पठाउने बैठकको निर्णय छ ।
बैठकले सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन प्रदेशवासीलाई अनुरोध गरेको छ ।
दिवसको सन्दर्भ पारेर फागुन ६, ७ र ८ गते प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ–संस्थाका कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले काठमाडौँ उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख सम्मिलित समिति गठन गर्ने र सरसफाइ, प्रभातफेरि, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी जस्ता विविध कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ ।