अपडेट 
२०८० माघ २६, शुक्रबार १९:०२

शालिग्रामका लागि प्रसिद्ध मानिने कालीगण्डकी नदी किनारको शिला रौतहटको गढीमाई नगरपालिकामा शुक्रबार ल्याइएको छ ।

पर्वतको बेनीस्थित जुगेधारा भई बग्ने कालीगण्डकी नदी किनारमा रहेको करिब दश टन तौल भएको उक्त शिला भगवान् शिवको मूर्ति बनाउन रौतहट ल्याइएको छ ।

पर्वतबाट बुधबार पठाइएको शिला रौतहटको गढीमाई नपा–४ मा सुरक्षित राखिएको छ । पालिकाको वडा नम्बर ७ धरमपुरमा निर्माण गरिन लागेको भगवान् शिवको मूर्ति बनाउन उक्त शिला ल्याइएको नगरप्रमुख श्याम यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले माघमै भगवान् शिवको मूर्ति बनाउनुपर्ने उत्तम साइत भएको प्रष्ट्याउँदै माघ २१ गते पर्वतको जलजला गाउँपालिकालाई पत्राचार गरेपछि शिला पठाइएको हो ।

मन्दिर निर्माण समितिका पदाधिकारीहरु र कालीगण्डकी नदीका अध्येता कुलराज चालिसेसहितको टोलीले शिलाको पहिचान गरी पठाएको बताइएको छ । मुस्ताङको दामोदरकुण्डबाट उत्पत्ति भएर प्रसिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालिगण्डकी नदीको शिला प्रयोग गरेर बनाइने भगवान् शिवको मूर्तिको ठुलो धार्मिक महत्त्व हुनुको साथै धार्मिक पर्यटन प्रवर्द्धन हुने र कालीगण्डकी नदीको थप प्रचारप्रसार समेत हुने नगरप्रमुख यादवको विश्वास छ ।

Comment


Related News