अपडेट 
२०८० माघ २८, आईतवार ०८:५६

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगत ३४ वर्षदेखि कांग्रेस र कम्युनिष्ट नेतृत्व सत्ता परिवर्तनको खेलमा मात्र केन्द्रित भएको आरोप लगाएका छन् ।

नेपालमा ३४ वर्षदेखि कांग्रेस र कम्युनिष्टले सत्ता र सरकार परिवर्तन मात्र गरेको र अहिले संघीयता र लोकतन्त्र समाप्त गर्न पनि उनीहरु नै उद्यत रहेको उनले बताए । बोदेबरसाइनमा शनिबार जसपाले गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट नेतृत्वको सरकार मधेशलाई कमजोर बनाइ संघीयता र लोकतन्त्र समाप्त गर्दै एकात्मक ब्यवस्था लाद्न प्रयासरत रहेको बताए ।

५३ प्रतिशत जनसंख्या रहेको मधेशको विकास १३ प्रतिशत बजेटले सम्भव नरहेको बताउँदै उनले प्रश्न गर्दै भने, ’मुलुकको राजस्वमा ७० प्रतिशत आम्दानी मधेशबाट हुन्छ । तर बजेट भने मधेशलाई १३ प्रतिशत मात्रै दिने गरिएको छ । यो कसरी न्यायपूर्ण भयो ? पछिल्लो ३४ वर्ष देखि कांग्रेस कम्युनिष्टले देशको शिक्षा, उद्योग र कृषि क्षेत्रलाई बर्बाद बनाइ जनशक्तिलाई विदेशिन बाध्य बनाएको उनको भनाइ छ ।

कार्यक्रममा सप्तरीको प्रदेश सभा क्षेत्र नम्बर ४(२) बाट स्वतन्त्र प्रदेश सभा सदस्य अनिरुद्ध प्रसाद सिंह जसपा नेपालमा प्रवेश गरेका छन् । कार्यक्रममा जसपाका अध्यक्ष यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलगायतले प्रदेश सभा सदस्य सिंहलाई अबिर माला लगाई जसपामा स्वागत गरेका थिए । विगतमा जसपामै रहेका प्रदेश सभा सदस्य सिंहलाई गत निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र भइ उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

सप्तरी जनता समाजवादी पार्टी (जसपा)को गढको रुपमा रहे पनि केही समय यता आएर जनमत पार्टी हावी हुन थालेका थिए तर, सिंहको पुनः आगमन पछि पार्टी बलियो हुने जसपा नेताहरुको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News