अपडेट 
२०८० माघ २८, आईतवार ०९:१०

मधेश प्रदेश सरकारमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)संसदीय दलका नेतामा अभिराम शर्मा नै रहने भएका छन् ।

अदालतबाट उनी दोषी ठहरिएर जेल सजाय पाएपछि प्रहरीको पहुँच भन्दा बाहिर रहे पनि पार्टीका लागि निर्दोष नै रहेकाले पदमुक्त नहुने दलका उपनेता उपेन्द्र महतोले जनाएका छन् । शर्माले प्रदेश सभाबाट पाउने सेवा, सुविधाहरु रोक्का गरिएको छ । उनी प्रदेश सभामा जान छाडिसकेका छन् ।

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका सई थमन बिकको हत्यामा दोषी ठहरेका शर्मालाई प्रहरीले खोजी सूचीमा राखेका छन् । लोसपा मधेश प्रदेशका अध्यक्ष समेत रहेका प्रदेश सभासद जितेन्द्र सोनल समूहले दलको नेताचयन गर्नुपर्ने बताउदै आएका छन् ।

संसदीय गतिविधिलाई प्रभावकारी रुपमा अगाडि बढाउन दलको नेता आवश्यक रहेको बताउँदै प्रदेश समितिका सचिव रामविनोद चौधरीले नेताको चयन चाँडै हुने बताए । तर दलका उपनेता महतोले शर्मालाई पदमुक्त नगरिने बताउँदै दलको विधान अनुसार उपनेताले नेताको भूमिका निर्वाह गर्ने बताए । ‘पार्टीको दृष्टिमा शर्मा इमान्दार र लोकप्रिय जनप्रतिनिधि छन्’ उनले भने, नेताबाट हटाएर पार्टीले पनि उनलाई दोषी ठहर गर्न सक्दैन् । नेताको अनुपस्थितिमा उपनेताले कामकाज गर्ने व्यवस्था विधानमा रहेकाले सोही अनुरुप काम अगाडि बढेको महतोले बताए । राष्ट्रिय दलको हैसियत गुमाइसकेको लोसपामा दलको व्हिप सभासदहरुलाई लाग्दैन् । ओरालो लागिसकेको अवस्थामा लोसपाका सभासदहरुले आगामी दिनमा भविष्य सुरक्षित गर्न दल परिवर्तन समेत गर्ने संभावना रहेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News