अपडेट 
२०८० माघ २९, सोमबार ०९:३०

भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको छ । सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको छ ।

आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए । नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेको छ ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो ।

बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् ।

गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ ।

Comment


Related News