अपडेट 
२०८० फाल्गुन १, मंगलवार ०७:४९

धनुषाको धनुषाधाममा कानुनले निषेध गरेको सुगाको व्यापार निर्बाधरूपमा भइरहेको छ । तराई क्षेत्रबाट समेत लोपजस्तै भइसकेको तथा कानुनले वर्जित गरेको सुगाको अवैध व्यापार धनुषाधाममा भइरहेको छ । सुगाको व्यापारमा संलग्न अधिकांश भारतीय रहेका छन् ।

पिँजडामा राखेर सुगा बेच्दैगरेका एक सुगा व्यापारीले छ सयदेखि आठसय रुपैयाँमा एउटा सुगा बेच्नेगरेको बताए । नाम ठेगाना बताउन नचाहेका ती व्यापारीले भारतको बिहारबाट सुगा ल्याएर यहाँ बिक्री गरिरहेको जानकारी दिए ।

नेपालमा सुगाको व्यापारमा प्रतिबन्ध लगाइएको कुरा थाहा रहेको बताउँदै ती व्यापारीले अहिलेसम्म रोकटोक गर्न कोही नआएको बताए । स्थानीय दुर्योधन महतोले माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर सङ्क्रान्ति मेलाका दिन छ–सात जना भारतीय व्यापारी यहाँ सुगा बेच्न आउनेगरेको बताए ।

मेला सुरक्षार्थ खटिएका प्रहरी र नजिकै रहेको वन कार्यालयका कर्मचारीले सुगाको अवैध व्यापारलाई रोक्ने प्रयास नगरेको उनको भनाइ छ । चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा कार्यरत मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलका अनुसार सरकारले २०६८ मा जारी गरेको पन्छीपालन नीतिअनुसार कुखुरा, हाँस, बट्टाई, लौकाट, टर्की, परेवा, अस्ट्रिज, कालिज र च्याखुरा मात्र पालन गर्न पाइन्छ ।

अन्य चराहरू पाल्न नपाइने कानुनमा व्यवस्था छ । नीतिमा उल्लेख भए बाहेकका चराको व्यापार व्यवसाय गरेमा कानुनअनुसार कारबाही हुने व्यवस्था रहेको उनले बताए । ऐनमा वन्यजन्तुको अवैध व्यापारमा संलग्न हुने व्यक्तिलाई अधिकतम १० लाख रुपैयाँसम्म जरिवाना वा १५ वर्षसम्म कैद वा दुवै सजायको प्रावधान राखिएको छ ।

कानुनी प्रावधान कार्यान्वयन गर्न नेपालमा निकुञ्ज विभाग, वन विभाग र मातहतका कार्यालय, डिभिजनल वन कार्यालय र प्रहरीलाई जिम्मेवारी तोकिएको छ । यद्यपि बाघ, गैँडा, हात्तीको अवैध व्यापार नियन्त्रणको दाँजोमा अवैध चरा व्यापार नियन्त्रण कार्य ओझेलमा परेको अध्यक्ष मण्डलले बताए । पिँजडामा चरा पाल्नेहरूका कारण सुगाको अवैध व्यापार निरुत्साहित हुन नसकेको उनको भनाइ छ ।

डिभिजन वन कार्यालय धनुषाका डिभिजलन प्रमुख बेचन चौधरीले सुगाको व्यापार कानुनको बर्खिलाप भएको बताउँदै त्यस्तो कारोबारीलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए ।

Comment


Related News