अपडेट 
२०८० फाल्गुन १, मंगलवार ०८:०५

सप्तरीको पश्चिमी भेगमा अवस्थित सुरुङ्गा नगरपालिकाको विभिन्न खोलाबाट मापदण्ड मिचेर अवैध उत्खनन भइरहेको छ ।

स्थानीयवासीले खबर गरेपछि सोमबार स्थलगत अनुगमन गर्न टोली पुगेपछि खोलामा रहेका दर्जनौं ढुवानीका साधन जताततै उत्खनन गरिरहेका थिए । टोलीलाई देखेपछि कतिपय ढुवानीका साधन लिएर चालक भागेका थिए । स्थानीयका अनुसार सुरुङ्गा नगरपालिकाको चुरे क्षेत्रका शिशुवारी, चहका र बलान खोलाबाट मापदण्ड विपरीत ढुंगागिट्टी र बालुवा झिकेर तस्करी भइरहेको छ । अत्यधिक दोहनले खोलाका मुहान सुक्दै गएको छ भने वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको विज्ञहरुको भनाइ छ ।

सुरुङ्गा नगरपालिका भित्र पर्ने नदीहरूबाट नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न चालु आव २०८०/८१ का लागि संघर्ष निर्माण सेवा उदयपुरले १ करोड २५ लाख ९९ हजार ९ सय ९९ मा ठेक्का पाएको छ । नगरपालिका सँग ठेक्का लिँदा गरिएको सम्झौतामा बलान खोलाबाट प्रतिदिन १ हजार ६ सय, चहका खोलाबाट ५ हजार २ सय ६० तथा शिशुवारी खोलाबाट २ हजार ७ सय घनफिट मात्र नदीजन्य पदार्थको उत्खनन गर्न पाइने उल्लेख छ । तर ठेकेदारले ट् याक्टर र ट्रकमार्फत तोकेको भन्दा दोब्बर घनफिट बालुवा गिट्टी झिकेर लैजाने गरेको स्थानीयको भनाइ छ । यस्तै सम्झौतामा सूर्योदय देखि सूर्यास्तसम्म मात्र बालुवा गिट्टी झिक्न पाइने र घाटगदी गरेपश्चात मात्र लिएर जानुपर्ने उल्लेख भए पनि सो प्रक्रिया पूरा नगरी रातिको समयमा समेत उत्खनन र ढुवानी गर्ने गरेको स्थानीयवासी शंकर चौधरीले बताए । आफूहरू यसबारे ठेकेदार, नगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई नभएको उनले सुनाए ।

यसरी नै खोला दोहन भइरहने हो भने वर्षायाममा बस्ती डुवान तथा अन्य बेला पानीको हाहाकारको जोखिम बढ्दै जाने उनको कथन छ । यसका अतिरिक्त खेतीपातीमा समेत समस्या हुन थालेको उनको भनाइ छ । केही वर्षअघिसम्म ढुङ्गा र बालुवाले भरिभराउ शिशुवारी, चहका र बलान खोलाको बगर अहिले रित्याइएको देखिन्छ । एकातिर मापदण्ड विपरीत उत्खनन अर्कोतिर खोला छेउमै बालुवा प्रशोधन केन्द्रको नाममा क्रसर उद्योग नै सञ्चालनमा ल्याएर ठेकेदार र व्यवसायीले चुरेको कमजोर धरातल उधिनेर थप कमजोर बनाउँदा पनि सम्बन्धित निकायको ध्यान जान नसक्नु दुखद भएको स्थानीयहरुको भनाइ छ ।

नेपाल सरकारले चुरे संरक्षणलाई उच्च प्राथमिकतामा राखेर वर्षेनी करोडौं रकम खर्च गरे पनि माफियाहरूकै कारण यो प्रभावहीन देखिएको तथा यसले वातावरणमा नकारात्मक असर पार्नुका साथै आसपासका बस्तीलाई समेत जोखिममा पार्ने काम भइरहेको उनीहरुको कथन छ । यस विषयमा सुरुङ्गा नगरपालिकाका उपप्रमुख रुद्रबहादुर कार्कीसँग जिज्ञासा राख्दा उनले मापदण्ड विपरीत उत्खनन भइरहेको बारे अनभिज्ञता प्रकट गर्दै गुनासो आइसकेपछि नियन्त्रणमा अब कडाईका साथ लाग्ने जनाए ।

ठेकेदार र क्रसर व्यवसायीले स्थानीय सरकारको मिलोमतोमा अवैध उत्खनन गरिरहेको स्थानीयको आरोपलाई अस्वीकार गर्दै उनले त्यस्तो कुनै मिलोमतो नरहेको दाबीका साथ सोको अनुगमन गरी कडाईका साथ अघि बढ्ने प्रतिबद्धता समेत जनाए । स्थानीय सरकार र प्रहरीको आँखा छल्दै चुरेसँग जोडिएको खोलाहरूबाट मापदण्ड विपरीत जथाभावी ढुङ्गा, बोल्डर र गिटी उत्खनन र अत्यधिक दोहनले खोलाहरूको मुहान सुक्दै जानुको साथै प्राकृतिक सम्पदाको विनाशले वातावरणमा समेत नकारात्मक असर पर्ने भन्दै स्थानीयले अविलम्ब यसको नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।

Comment


Related News