अपडेट 
२०८० फाल्गुन ५, शनिबार १७:०७

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विकास, शिक्षा र स्वास्थ्य गरी तीनवटा कुरामा राजनीति गर्न नहुने बताउनुभएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो बार्षिक समारोहको अवसरमा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री सरोजकुमार यादवले उपचारको लागि काठमाण्डौ जाने धरान, चितवन रेफर गर्ने अवस्थाको पनि अन्त्य हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् सहकुलपति वीरेन्द्र प्रसाद सिंहले प्रतिष्ठानका संस्थापक उपकुलपति प्रा.डा. रामकेवल साहप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै प्रतिष्ठानलाई अध्ययन र अध्यापनको क्षेत्रमा प्रदेशकै गौरवमय संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विगतका सम्पूर्ण कुराको अनुभव लिएर हामी बढ्छौ भन्नुहुँदै स्वास्थ्य सेवासँग सम्बद्ध सबैलाई सकारात्मक सोच राखेर प्रतिष्ठान र प्रादेशिक अस्पताललाई अघि बढाउनुपर्ने आवश्यक्तामाथि जोड दिनुभयो ।

प्रतिष्ठानका निमित्त उपकुलपति समेत रहनुभएका रेक्टर प्रा.डा. अंकुर साहको अध्यक्षतामा भएको समारोहमा रजिष्ट्रार प्रा.डा. विनोद यादवले प्रतिष्ठानको प्रगति र भावी कार्यदिशाबारे प्रकाश पार्नुभयो ।

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. रामनरेश पण्डितले स्वागत मन्तव्य राख्नुभएको समारोहमा संचालक परिषद् सदस्यद्वय डा. प्रमोद कुमार सर्राफ र मिनु झा लगायतले अप्ठयाराहरुका बीचपनि प्राप्त उपलब्धीलाई अघि बढाउनुपर्ने र प्रदेश सरकारले आफै नीति निर्माण गरी विकासको कार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

यसअघि प्रादेशिक अस्पतालको नवविस्तारित ह्दयरोग सम्बन्धी अत्याधुनिक सेवायुक्त क्याथ ल्याबको मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

प्रादेशिक अस्पतालमा सुरु भएको क्याथ ल्याब सेवाबारे मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा. अंकुर साहले जानकारी गराउनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News