अपडेट 
२०८० फाल्गुन ६, आईतवार ०७:१५

मधेश प्रदेशमा दुई समुदाय बीच भएको झडपले तनावपूर्ण अवस्था सृजना भएको छ । महोत्तरीको सम्सीमा झडप भएको छ भने रौतहटमा कफ्र्यु आदेश जारी गरिएको छ ।

केही महिना अघि सर्लाहीको सदरमुकाममा दशैँको क्रममा भएको दुर्गा पूजाको मुर्ति सेलाउने क्रममा दुई समुदाय बीचको विवादले उग्ररुप लिएपछि झडप भएको थियो । सो झडपको क्रममा एक जना युवाको मृत्यु भएको थियो भने प्रहरीसहित केही व्यक्तिहरु घाइते पनि भएका थिए । जसकारणले गर्दा स्थानीय प्रशासनले अनिश्चितकालिनसम्म कफ्र्यु नै जारी गरेर धार्मिक सहिष्णुतालाई ख्याल गर्दै उत्पन्न समस्या समाधान गरिएको थियो । तर करिब तीन महिना नबित्दै महोत्तरी र रौतहटमा सरस्वती पूजा सम्पन्नपछि मूर्ति सेलाउने क्रममा मुस्लिम समुदायले बाधा अवरोध सृजना गरे पछि दुई पक्ष बीच झडप भएको छ ।

महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर २ स्थित महावीर झण्डा मेलाको अवसरमा निकालिएको कलश यात्राका क्रममा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । ब्रह्मस्थान मन्दिरमा महावीर झण्डा मेलाको उद्घाटन अघि वडा नम्बर १ बाट कलश यात्रा निकालिएको थियो । सो कलश यात्रा मस्जिद भएको स्थानबाट जाँदै गर्दा मुस्लिम समुदायले जय श्रीरामको नाराबाजीको विरोध गर्दै अवरोध खडा गरेपछि झडप भएको स्थानीयहरु बताउँछन् ।

झडप भएपछि स्थानीय प्रहरीले अवस्थालाई नियन्त्रणमा लिनका लागि चार राउण्ड हवाई फायरसमेत गरेका थिए । प्रहरीले हवाई फायर गरेपछि भागदौड हुँदा तीनजना घाइते भएको थियो । महोत्तरी प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएपछि त्यहाँको अवस्था सामान्य बनेको छ । यता, रौतहटमा स्थानीय प्रशासनले कफ्र्यु जारी गर्नु परेको छ भने महोत्तरीको सम्सीमा भएको झडपलाई प्रहरीले थामथुम पार्न सफल भएको छ । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने बाटो अवरुद्ध गरेको २४ घण्टापछि कर्फ्यू जारी गरिएको छ ।

ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रबार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई पक्ष बीच झडप भएको थियो । मूर्ति लैजाने विषयमा विवाद सुरु भएपछि शुक्रबारदेखि नै रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा नेपाल प्रहर ीसंगै ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

शनिबार भएको दोहोरो झडपमा केही स्थानीयवासीलाई चोटपटक लागेपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रहरी प्रवक्तासमेत रहेकी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले साँझ ५ बजेदेखि लागु हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्म अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरिएको बताइन् ।

घिउरा गाउँका स्थानीय शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँ छेउको पोखरीमा जाने क्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेका थिए । ट्याक्टरमा डिजे बाजा बजाएको कारण बाटो अवरुद्ध गरेको मुस्लिम पक्षको आरोप छ । शुक्रबार दिउँसो दुई बजेदेखि मूर्ति सेलाउन जाने हिन्दू समुदायका स्थानीयवासीहरुलाई बाटोमै मूर्ति राखेर धर्नामा बसेका थिए ।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको रोहबरमा दुवै पक्षलाई राखेर मूर्ति सेलाउन दिने सहमति भएको थियो । सरस्वतीको मूर्ति सेलाउन एउटा बाटोबाट लैजान र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति विपरीत केही युवाहरूले ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको प्रवक्ता गिरीले बताइन् ।

Comment


Related News

Latest News

Trending News