अपडेट 
२०८० फाल्गुन ७, सोमबार ०८:१६

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले तेस्रो पटक विश्वासको मत पाएका छन् ।

प्रदेश सभाको वैठकमा उपस्थित १०४ जना प्रदेश सभा सदस्य मध्ये ६९ जनाले मुख्यमन्त्रीको पक्षमा र ३५ जनाले विपक्षमा मतदान गरेका छन् । सभामा उपस्थित प्रदेश सभा सदस्य १०४ जना मध्ये बहुमत पाउन मुख्यमन्त्रीलाई ५३ मतको आवश्यक रहेको थियो । प्रदेश सभाबाट दुई पटक सभाको शतप्रतिशत मत पाएका मुख्यमन्त्री यादवले यस पटक मात्र ६९ मत पाएका छन् ।

कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादी पार्टी , रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी सहितका पार्टीका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्रीको पक्षमा मत दिएका छन् ।

यता, सभामा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री यादवले सरकारले राम्रो काम नगरेपनि नराम्रो काम पनि नगरेको बताए । विश्वास मत लिने क्रममा सभामा उठेका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री यादवले भने,‘ अधिकांश माननीयहरु भन्नुहुन्छ, सरकारले राम्रो काम गरेको छैन । ठिक छ, सरकारले राम्रो काम गरेको छैन भनेर नराम्रो काम पनि त गरेको छैन नि । तर मलाई लाग्छ सरकारले अहिले सम्म जे गरेको राम्रो काम गरेको छ । खराब काम एउटा पनि गरेको छैन र गर्दैन पनि ।’ राष्ट्रिय सभाको निर्वाचन, जनमत सरकारबाट अलग लगायतका कारण विकास निर्माणको कार्य ढिलाइ हुन पुगेको उल्लेख गर्दै उनले भने,‘ यस वर्ष पूरै बजेट खर्च हुन्छ । विगतका वर्षहरु जस्तो हँुदैन । आगामी जेष्ठ मसान्त भित्रै विकास वजेट खर्च हुने हाम्रो लक्ष्य छ ।’ माननीयहरुको योजनाहरु पनि सबै कार्यान्वयन हुन्छ, तपाईहरु ढुक्क हुनुस्, तपाईहरुको योजनाहरु यताउत्ता हुँदैनन, मुख्यमन्त्री यादवले भने ।

सभामा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले सरकारको पछिल्लो एक वर्षको कार्यकाल सन्तोषजनक नरहेको भन्दै मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पार्टीको निर्णय भएको बताए । मुख्यमन्त्रीलाई विश्वासको मत नदिए पनि संघीयता, प्रदेश, मधेशी जनताको सरोकारसँग जोडिएको विषयमा आफूहरु सधै सरकारको सहयात्रीको रुपमा काम गर्न तयार रहेको बताए । उनले प्रदेश सभा सदस्यहरुको योजनाको चिठ्ठी आपूmखुशी बाड्ने काम यथाशीघ्र बन्द हुनु पर्ने बताए । प्रदेश सभा सदस्यहरुको योजनाको चिठ्ठी आफ्ना नेता कार्यकर्तालाई बाड्नुले प्रदेश सरकार भ्रष्टाचार, कार्यकर्ता पालन केन्द्र बनाउन चाहेको आरोप समेत लगाए ।

नेपाली कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले आफूहरु सरकारको सहयात्री भए पनि सरकारको कार्यबाट पूर्ण सन्तोष हुन नसकेको बताए । हामी ८ महिनादेखि सरकारमा छौ, उनले भने,‘प्रदेशमा जसपा नेतृत्वको सरकार छ, तर सरकारको कार्य सन्तोजनक देखिएको छैन ।’ सरकारको गतिविधि विगत जस्तै रहेको खण्डमा आफूहरु पनि सरकारको गुण र दोषको अधारमा समर्थन वा विरोध गर्ने अधिकार आफूहरुसँग सुरक्षित रहेको बताए । मधेश प्रदेश संघीयताको जननी रहेको बताउँदै मन्त्री यादवले भने,‘मधेश प्रदेश सरकारले राम्रो काम गर्न सकेन भने संघीयताविरुद्ध आवाज उठन थालेको छ । त्यसकारण प्रदेश सरकार यो विषयमा बेलैमा सचेत हुनु आवश्यक छ ।’

त्यसैगरि, माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले पनि सरकारको सन्तोष जनक कार्य नरहे पनि आगमी दिनमा सुधार गर्दै काम हुने अपेक्षा सहित विश्वासको मत पुनः दिने बताए । सत्ता गठबन्धन दलको वैठकमा मुख्यमन्त्री यादवले विगतका आफ्ना कमिमजोरी सच्याउछु भनेर प्रतिबद्धता जनाएकाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने उनले बताएका थिए ।

जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले आफूहरुको काममा मुख्यमन्त्री यादवको अवरोध गर्ने गरेको कारण आफूहरु सरकार छोडेको आरोप लगाए । एका तिर मुख्यमन्त्री ज्युले सरकारको अकार सानो बनाउने भन्नु हुन्छ, उनले भने, ‘तर अर्को तिर आफ् नो पार्टीको माननीयहरुलाई व्यवस्थापन गर्न मन्त्रालयको संख्या थपिदै गएका छन् ।’ वर्तमान कमिशनको भरमा योजनाहरुको बाँडफाँटमा हुने गरेको बताउँदै आफ्नो भागमा परेका मन्त्रालयका योजनाहरु पनि कमिशनको लोभमा थाहा नै नदिइ अर्थ मन्त्रालयबाटै वितरण हुने गरेको कारण आफूले बाध्य भएर सरकार छोडेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News