अपडेट 
२०८० फाल्गुन ८, मंगलवार ०८:०३

रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा सरस्वती माताको मूर्ति सेलाउन अवरोध गरिएको विरोधमा सोमवार वीरगञ्जमा भएको जुलुस प्रदर्शनपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।

प्रदर्शनको क्रममा भएको झडपमा सुरक्षाकर्मी र प्रदर्शनकारीहरु घाइते भएका छन् । विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीहरुबीच भएको झडपको क्रममा ११ जना सुरक्षाकर्मीहरु घाइते भएका छन् । उनीहरुको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । वीरगञ्जको इदगाह चोकमा मुस्लिम समुदायका केही युवाहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेपछि स्थिति बिग्रिएको थियो । त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको र प्रहरीले भीड तितरबितर पार्न १० राउण्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । इदगाह चोकमा प्रदर्शनकारीसंग भएको झडपमा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरी निरीक्षक धर्मराज थिङ, वरिष्ठ सई अशोक गुप्ता, प्रहरी हवल्दार धर्मेन्द्र कुशवाहा घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले सोमवार जारी गरेको सूचनामा साँझ ५ बजेदेखि अर्को आदेश नहुञ्जेल सम्मका लागि कफ्र्यु लगाइएको उल्लेख छ ।

गत फागुन ३ गते बिहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर सोमबार वीरगञ्जमा निकालिएको विरोध जुलुसको क्रममा विवाद भइ झडपको स्थिति उत्पन्न भइ सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजरगर्दै साँझ ५ बजेदेखि अनिश्चितकालीन कफ्र्यु जारी गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले बताएका छन् । उनका अनुसार वीरगञ्ज महानगरपालिकाको सीमा क्षेत्र पूर्वमा नगवा चोक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा तथा दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र) मा कफ्र्यु आदेश जारी गरिएको बताए ।

कफ्र्यु आदेश जारी गरिएको क्षेत्रभित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ¥याली गर्न एवं अन्य कुनै प्रकारको उच्छश्रृंखल गतिविधि गर्न नपाउने गरी सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको सहायक प्रजिअ लम्सालले बताए ।

प्रदर्शनकारीहरुले बिभिन्न चोकमा टायर बाल्दै प्रदर्शन थालेपछि केही स्थानमा अर्काे समुदायका मानिसहरु जुटेर प्रतिकार गर्न तम्सेपछि सामान्य झडप भएको थियो । हिन्दूवादी विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा मूर्ति सेलाउनु पर्ने, अवरोध गर्नेलाई कारवाही गर्नुपर्ने मागगर्दै वीरगञ्जमा जुलुस निकालिएको थियो । अर्को समुदायका मानिसहरुको बाहुल्यता रहेको चोक र वडाहरुमा भारी संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको थियो । राति हुन सक्ने सम्भावित घटनालाई दृष्टिगत गरी कफ्र्युको समयमा घरबाहिर ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ ।

ईशनाथ नगरपालिकामा सरस्वती माताको मूर्ति सेलाउन जाँदै गरेका विद्यार्थीहरुलाई मोतिपुरमा अबरोध गरिएको थियो । झडप भएपछि मूर्ति सेलाइएको थिएन् । स्थानीय प्रशासनले ४ दिन सम्म कफ्र्यु लगाएर आफ्ना निरीहता ढाकछोप गर्ने प्रयास गरिरहेको स्थानीय वासिन्दाहरुले आरोप लगाएका छन् । सम्प्रदायिक दंगालाई नियन्त्रण गर्न कफ्र्यु लगाएको बताउँदै प्रशासनले मूर्ति सेलाउने प्रयास नगरेको विद्यार्थीहरुले आरोप लगाउँदै संघर्षमा उत्रने चेतावनी दिएपछि सोमवार दिउँसो मात्र मूर्ति सेलाइएको छ ।

मधेश प्रदेशका उच्च सुरक्षा अधिकारीहरुको सहभागितामा मूर्ति सेलाइए पनि कफ्र्यु हटाइएको छैन् । स्थानीय प्रशासनले ईशनाथ नपाको वडा नम्वर २ देखि ७ सम्म कफ्र्यु लगाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता समेत रहेकी डिएसपी एलिजा गिरिले ईशनाथको सम्बन्धित वडाहरुमा सामाजिक सद्भाव कायम भएपछि मात्रै कफ्र्यु हटाइने बताएकी छन् । सदभाव कायम गर्न दुबै समुदायका अगुवाहरुसित निरन्तर छलफल भइरहेको उनले बताइन् ।

महोत्तरी जिल्लामा स्थिति समान्य बनेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।कलश यात्रा निकाल्ने क्रममा अबरोध गरिएपछि दुई समुदायमा झडप भएको थियो ।

Comment


Related News

Latest News

Trending News