अपडेट 
२०८० फाल्गुन ८, मंगलवार ०८:३१

जनकपुरधाम स्थित निर्माणाधीन मणिमण्डपको कार्य सुस्त गतिमा भइ रहेको छ । सम्झौता अवधि सकिएको तीन वर्ष बित्दा पनि मणिमण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको सीतापुष्प वाटिका अन्तर्गतका कार्य सम्पन्न हुन सकेको छैन । संघीय सरकारले समयमा बजेट उपलब्ध नगराउँदा जनकपुरधाम उपमहानगरपालिका १३ मुजेलियामा अवस्थित सीतापुष्प वाटिका मणिमण्डप योजना अन्तर्गतका कार्य सम्पन्न हुन सकेको छैन् ।

उक्त योजना सम्पन्न गर्नका लागि अझै पनि सात करोडभन्दा बढी रकमको आवश्यक हुँदा पनि संघीय सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा जम्मा ३५ लाख मात्र उपलब्ध गराउँदा कार्य सम्पन्नतामा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । रबिना कन्स्ट्रक्सन कम्पनी लिमिटेड काठमाण्डुले २०७५ साल मंसिरमा भ्याटबाहेक १८ करोड १५ लाख २२ हजार ७ सय ९३ रुपैयाँको लागतमा २०७८ साल जेठ २४ गतेसम्म निर्माण गर्ने जिम्मेवारी पाए पनि पहिलो सम्झौता सकिएको तीन वर्ष बित्न लागे पनि काम भने सम्पन्न हुन सकेको छैन । कम्पनीले विभिन्न कारण देखाउँदै पाँचौँ पटक म्याद थपका लागि निवेदन पेस गरेको छ ।

निर्माण कम्पनीले प्रथम म्याद २०७८ साल जेठ २४ गतेदेखि २०७८ चैत ३० गते, दोस्रो पटक २०७९ वैशाख १ गतेदेखि २०७९ पुस ९ गतेसम्मका लागि थपिएको थियो भने तेस्रो पटक २०७९ माघ १० गतेदेखि २०८० मंसिर ७ गते र चौथो पटक २०८० मंसिर ८ गतेदेखि २२ गते सम्मका लागि म्याद थप गरे पनि काम सम्पन्न हुन नसकेपछि २०८१ साल जेठ ३० गते सम्म पाँचौ पटकका लागि म्याद थपको निवेदन परेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख इन्जिनियर प्रदीप खनालले बताए ।

सरकारले समयमा बजेट उपलब्ध नगराउनु, स्थानीयको अवरोध, निर्माण सामग्री समयमा उपलब्ध नहुनाले सीतापुष्प वाटिकाको काममा ढिलाइ भएको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख ई. खनालको भनाइ छ । उनका अनुसार उक्त योजनाको निर्माण कार्य अहिलेसम्म भौतिकतर्फको प्रगति ८० प्रतिशत र वित्तीयतर्फ सम्झौता रकमको ७३.८२७ प्रतिशत भुक्तानी भएको छ । सम्झौता भएको दिनदेखि कुनै वाधा नआएको भए काम समयमा सम्पन्न हुने ई खनालले बताए । उनी भन्छन्, “बाँकी कामका लागि सात करोडभन्दा बढी रकमको आवश्यकता हुँदा पनि सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ मा जम्मा ३५ लाख मात्र उपलब्ध गराइएको हुँदा बाँकी कार्य सम्पन्न हुन सकेको छैन ।” सरकारले बजेट उपलब्ध गराउन ढिलासुस्ती गरेका कारण निर्माण कम्पनीलाई जरिवाना समयमा काम सम्पन्न नगरेको भन्दै जरिवाना समेत तोक्न नसकेको खनाल बताउँछन् । यदि निर्माण कम्पनीको ढिलाइका कारण काम सम्पन्न नभएको भए प्रतिदिन ९० हजारको दरले हर्जाना असुल गर्ने थियौँ । तर, सरकारले नै समयमा बजेट नदिँदा काममा ढिलाइ हुँदा पनि जरिवाना माग दाबी गर्न सकेका छैनौ ढिलै भएपनि अहिले कालिगडद्वारा प्यालेस र दरबारमा बुट्टा कुँदिने कार्य चलिरहेको प्रमुख ई. खनालले बताउछन् ।

स्यानिटरी, विद्युतीय जडान, फ्लोर फिनिसिङ्ग, झ्याल ढोका जडान, टायल मार्बल (फलोर फिनिसिङ्ग), अन्तिम रंगरोगन, परिसर सुधार( लयाण्ड स्क्यापिङ्ग), दक्षिण– पूर्वतर्फ २ सय मिटर पर्खाल निर्माणको काम बाँकी रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख ई. खनालले बताए । दुई बिघा क्षेत्रफलमा फैलिएको सीतापुष्पा बाटिका मणिमण्डप योजना अन्तर्गत मणिमण्डप परिसरभित्र दुईतल्ले जनक दरबारको प्रतिमूर्तिसहित दुई तल्ले भवन, धर्मशाला, स्वयंवर मण्डप, दुई वटा प्याभिलियन, मन्दिर र पसलका लागि आठ सटरलगायत भौतिक संरचनाहरू छन् ।

स्थानीय भन्छन्, “दरबार निर्माणले एक खालको आशा पलाए पनि दरबार समयमा निर्माण नहुँदा निराश भएका छौँ ।” तीन वर्षमा सम्पन्न हुने योजना छ वर्ष सकिन लाग्दा पनि निर्माण काम पूर्ण रूपमा सम्पन्न नभएपछि स्थानीय निराश भएका छन् । निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा स्थानीयमाथि आरोप लागाएको र निर्माणस्थलमा घर टहरा भएका बासिन्दाले सीता र राम भगवानको कुरा आउँदा सहमतिमा उक्त स्थान सहजै छोडेको वडा नं. १३ का अध्यक्ष जीतबहादुर राउतले बताए ।

त्रेता युगमा राम र सीताको विवाह भएको स्थान मणिमण्डपको अवस्था अझैसम्म पनि सुधार नहुँदा पर्यटकहरूको आवगमनमा वृद्धि हुन सकेको छैन । उक्त योजनाले मणिमण्डपलाई वैवाहिक गन्तव्यको रूपमा विकास हुँदा पर्यटकीय गन्तव्य बनाउन ठुलो मद्दत पुग्ने छ । तर योजना समयमा सम्पन्न नहुँदा निराशा छाएको मणिमडपका पुजारी नबल दास बताउछन् ।

विवाह स्थल मणिमण्डपलाई विकास गर्न नसकिएकोप्रति मन्दिरका पुजारी नवल दासले भने, “बेला बखत भारतीय पर्यटकहरू आगमन हुन्छ, नत्र भने अन्य पर्यटकहरूको आगमन यहाँ हुँदैन । कतिपयलाई यस स्थानको बारेमा जानकारी नै छैन । जानकी मन्दिरको छेउमा बनाइएको विवाह मण्डपको छायाँमा राम सीताको वास्तविक विवाह भएको स्थान मणिमण्डप ओझेलमा परेका कारण यहाँको विकासमा खासै ध्यान नदिएको पुजारीको दासको कथन छ ।“ लामो समयको अन्तरालमा मणिमण्डपमा निर्माण हुन थालेको जनक दरबार र धर्मशाला निर्माणमा भएको ढिलासुस्तीप्रति सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी रहेको पुजारीले बताए । वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको योजना निर्माणमा ढिलाइ भएका कारण यहाँका व्यापार व्यवसाय पनि फस्टाउन सकेको छैन । समयमा योजना सम्पन्न नहुँदा स्थानीयवासीमा निराशा समेत निराश छन् ।

Comment


Related News

Latest News

Trending News