अपडेट 
२०८० फाल्गुन १३, आईतवार ०७:२४

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयतालाई सबल बनाउन केही दिनमै प्रहरी समायोजन, कर्मचारी र शिक्षा सम्बन्धी ऐन ल्याउने बताएका छन् । मधेश प्रदेश सरकारले शिक्षा र निजामती ऐन, प्रहरी समायोजन गर्न सरकारमाथि दबाब दिइरहेको बेला प्रधानमन्त्री प्रचण्डले शनिबार धनुषा–सिरहालाई जोड्न कमला नदीमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन समारोहमा मधेशको मागलाई सम्बोधन गर्ने बताएका हुन् ।

कमला नदीमा हरिनारायण रौनियारको पप्पु कन्सट्रक्सनले बनाएको पुल उद्घाटन नहुँदै भत्किएपछि सरकारले झोलुंगे पुलको निर्माण गरेको हो । प्रधानमन्त्री प्रचण्डले झोलुंगे पुलको उद्घाटनको क्रममा मधेशको विकास बिना देशको विकास सम्भव नभएको बताए । ‘मधेशको मुक्ति बिना देशको मुक्ति सम्भव छैन,’ उनले भने, ‘मधेशी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन ।’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने उनले बताए ।

मधेशको विकासका लागि सरकारले आवश्यकता अनुसारको ठूला योजनाहरुलाई चाँडै सम्पन्न गर्ने प्रचण्डले बताए । धनुषाको सबैला नगरपालिका–४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका–५ चिकना जोड्ने पक्की पुलको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने प्रतिबद्धता जनाए । आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘ तराईमा सिँचाइ, मलबीउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने छ । ’ देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न बृहत् आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता ‘गेम चेन्जर’ आयोजना निर्माणका काम यथाशक्य चाँडो अगाडि बढाइने बताए ।

मधेश, पहाड र हिमालको एकताका लागि आफूले निर्वाचनमा सिरहाबाट भाग लिएको स्मरण गर्दै प्रधानमन्त्रीले मधेशी जनताको मत लिएर संघीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकोमा गर्व रहेको बताए । ‘मधेश, पहाड र हिमालको एकतालाई अविछिन्न तुल्याउन सबैको पहिचान र अधिकारका लागि लडेको नाताले एकता कायम गर्न मेरो जिम्मेवारी छ ’ उनले भने, संघीयताका लागि भएको लडाईमा मधेशको ठूलो योगदान छ । चालीस वर्षअगाडि भूमिगत कालमा आफू यस क्षेत्रमा आएको स्मरण गर्दै उनले सबैला, वस्तीपुरलगायत क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको उनले उल्लेख गरे ।

सो कार्यक्रममा शहरी विकास मन्त्री सिता गुरुंगले मधेश र पहाडलाई जोड्नका लागि मधेशको विकास अनिवार्य रहेको बताइन् । पूर्वमन्त्री मातृकाप्रसाद यादवले मुलुकको विकासका लागि माओवादी आवश्यक रहेको दावी गरे । ‘ माओवादी विना देशको विकास सम्भव छैन’ पूर्वमन्त्री यादवले भने ,यसका लागि मुलुकको भौतिक विकास संरचनादेखि शिक्षा, स्वास्थ्य, रोजगार सृजनासम्ममा सरकार गम्भीर हुनु पर्छ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पूर्वमन्त्री यादवले मुलुकको भौतिक विकास निर्माणको काममा सरकारको गलत नीतिका कारण वर्षौ वित्दा पनि पुललगायतका विकास निर्माणको कार्य समयमा पूरा हुन नसकेको बताए ।

सबैला नगरपालिकाका नगरप्रमुख कारीराम यादवको अध्यक्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव, नेता श्रवण यादव, भौतिक विकास मन्त्रालयका सचिव केशव शर्माले आ–आफना धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News