अपडेट 
२०८० फाल्गुन १४, सोमबार १४:१५

सरकारले राष्ट्रियसभामा विचाराधिन अध्यागमन विधेयक,२०७६ फिर्ता लिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो ।

विधेयक फिर्ता लिने क्रममा सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका पछिल्ला गतिविधि, प्रविधिमा आएको परिवर्तन, राष्ट्रिय सुरक्षा र सरकारको योजनालाई कार्यान्वयन गर्न विधेयक फिर्ता लिनुपरेको बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले अध्यागमन विधेयक राज्यका लागि जरुरी रहेको भन्दै विधेयकका प्रहरी समायोजन, सङ्घीयताको पक्षलाई समेट्दै थप समृद्ध तुल्याउन विधेयक फिर्ता लिएको बताउनुभयो ।

सांसदहरु भैरव सुन्दर श्रेष्ठ, सुमित्रा बिसी, अनिता देवकोटा, भगवती न्यौपाने, खिमलाल देवकोटा, तुलसा कुमारी दाहाल, विमला घिमिरे, दिल कुमारी रावल थापा पार्वती, विमला राई पौडेलले विधेयकलाई सुधार गर्नुपर्ने ठाउँमा फिर्ता लिनु समस्याको समाधान नहुने बताउनुभयो ।

यस्तै, बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन २०८० पेश भएको छ ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले प्रतिवेदन पेश गर्दै बढ्दो मानव र बन्यजन्तुबीचको द्वन्द्वले बाली नालीमा क्षति भएको, वन्यजन्तु वासस्थान व्यवस्थापनमा कठिनाइ, राजमार्गमा बनेका संरचनाले वन्यजन्तुको वासस्थानलाई खण्डीकरण गरेको अध्ययनले देखाएको बताउनुभयो ।

बैठकमा संरक्षित क्षेत्रमा स्थानीयको आवश्यकता पूर्तिका लागि ढुङ्गा गिटी बालुवा व्यवस्थापनमा कठिनाइ रहेको, संरक्षण क्षेत्रभित्र विना अध्ययन पूर्वाधार निर्माण हुनु, चोरी सिकारी नियन्त्रणका लागि प्रविधि र कर्मचारीको क्षमता अभिवृद्धि नहुनुले समस्या थपिएको सभापति थापाले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News