अपडेट 
२०८० फाल्गुन १५, मंगलवार ०७:४८

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि मदन भण्डारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु भएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको शुभारम्भ गर्दै मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । उनले खेलकुदले आपसी सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाउनुका साथै समाजमा रहेको लैंगिक विभेद अन्त्य गर्दै महिला सशक्तीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरिन् ।

पूर्व राष्ट्रपति भण्डारीले नेपालमा खेलकुद पूर्वाधारको अभाव तथा खेलाडीमा राज्यको लगानी कम भए पनि नेपाली खेलाडीले अन्तर्र ाष्ट्रिय जगतमा गरेको प्रदर्शनको उच्च प्रशंसा गर्दै खेलकुदको विकासमा राज्यले बढी लगानी गर्न जरुरी रहेको बताइन् । उनले खेलकुदमा रहेको अनुशासन तथा संयमता राजनीतिक क्षेत्रमा लागू हुन जरुरी रहेको बताउँदै स्वर्गीय मदन भण्डारीले देखेको स्वच्छ राजनीतिक प्रतिस्पर्धा अहिले पनि उपयोगी भएको बताइन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, हक्की संघ नेपालका अध्यक्ष अनिलप्रसाद शर्मासलगायतका वक्ताले राष्ट्रिय स्तरमा महिलाका लागि पहिलो हक्की प्रतियोगिता हुन लागेकाले यसले खेलको वातावरण बढ्ने विश्वास व्यक्त गरे । प्रतियोगितामा कर्णाली बाहेकका छ प्रदेश, त्रिभुवन आर्मी क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका टिम गरेर आठवटा टिमको सहभागिता रहेको छ भने प्रतियोगिता १९ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

सो प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५० हजार रुपियाँ र कप, द्वितीय हुनेलाई कपसहित एक लाख रुपियाँ तथा तृतीय हुने टिमलाई कपसहित ५० हजार रुपियाँ नगद प्रदान गरिने जनाइएको छ । उत्कृष्ट खेलाडीलाई १० हजार र वुमन अफ दि म्याच हुनेलाई पाँच हजार रुपैयाँ नगद प्रदान गरिने अध्यक्ष आचार्यले बताए ।

Comment


Related News

Latest News

Trending News