अपडेट 
२०८० फाल्गुन १७, बिहीबार ०७:२४

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल परित्यागको घोषणा गरी काठमाण्डुमा पहिलो पटक गरेको प्रदर्शनमै राजेन्द्र महतोको खुट्टा भाँच्चिएको छ ।

लेसपा छाडेर महतो राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक बनेका छन् । उनी सोमबार अभियानको घोषणा गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर तर्फ जुलुस सहित बढ्न खोज्दा प्रहरीको लाठीले महतोको खुट्टा भाँच्चिएको छ । प्रदर्शनको क्रममा महतो नेतृत्वको जुलुस भद्रकाली पुगेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

प्रहरीलाई धकेल्दै अगाडि बढ्न खोजेपछि प्रहरीको लाठीले महतोको खुट्टामा गम्भीर चोट लागेको छ । उनको खुट्टाको उपचार काठमाण्डुको ट्रमा सेन्टरमा भएको अभियानका युवा नेता अनिल महासेठले बताए । ‘खु्ट्टामा गम्भीर चोट लागेकोले ब्याण्डेज गरिएको छ ’उनले भने, प्रदर्शनको क्रममा प्रहरीले लछाडपछाड गरेपछि चोट लागेको हो । उनको हातमा पनि चोट लागेको महासेठले जनाएका छन् । डिल्ली बजारबाट निस्केको जुलुस बागबजार हुँदै भद्रकाली पुगेपछि प्रहरीले रोकेको थियो ।

नेता महतोले निषेधित क्षेत्र तोड्न त्यस तर्फ अगडि बढ्ने प्रयास गरेका थिए । राजतन्त्र र हिन्दू राष्ट्रको मूल मुद्दा लिएर प्रदर्शनमा उत्रेका दुर्गा प्रसाईँको विरोध कार्यक्रम गर्न नदिन जिल्ला प्रशासन कार्यालय काठमाण्डुले माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाएको थियो । त्यो निषेधाज्ञा अझै पनि हटाइएको छैन । निषेधाज्ञा हटाउन दबाब दिँदै महतोले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा अपेक्षाकृत भीड न्यून रहेको बताइएको छ । ‘बहुल राष्ट्रिय राज्य’स्थापनाको मागलाई मूल मुद्दा बनाएको अभियानका नेता महतोलाई लोसपा र जसपाका असन्तुष्ट नेताहरुले समेत साथ दिइरहेका छन् ।

Comment


Related News

Latest News

Trending News