अपडेट 
२०८० फाल्गुन १९, शनिबार ०८:४५

एमाले कोटाबाट राष्ट्रिय सभामा अध्यक्ष निर्वाचित गणेश तिमिल्सिना आउँदो फागुन ३० गते ६ वर्षे कार्यकाल पूरा गर्दै गर्दा सत्तागठबन्धनभित्र गम्भीर खटपट सुरु भएको छ ।

सत्ताप्राप्तिकै लागि डेढ वर्ष अधि बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र मधेश केन्द्रित दलहरुको अप्राकृतिक सत्ता गठबन्धनभित्रको यो खटपट सतहमा आउँन ढिलो भए पनि यसको संकेत भने कोशी प्रदेशको मुख्यमन्त्री र राष्ट्रिय सभा निर्वाचनकै बेला छरपष्ट भइसकेको थियो ।

जब, नेपाली कांग्रेसको घातको कारण गठबन्धनले तोकेका जनजाति समुदायका माओवादी नेता मुख्यमन्त्री बन्न सकेका थिएनन् र कांग्रेसका विद्रोही नेता उद्धव थापा नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री निर्वाचित भएका थिए । राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भए अनि माओवादी उम्मेदवार पराजित भएका थिए ।

सत्तागठबन्धनले तोकेको जनजाति समुदायका नेतालाई मुख्यमन्त्री बन्नबाट रोक्न सत्ताधारी समुदायका उद्धव थापाको नेतृत्वमा नेपाली कांग्रेसका आठ प्रदेश सांसदले विद्रोह गर्नु, थापालाई केपी ओली नेतृत्वको एमालेले सहयोग गर्नु अनि विश्वासको मत लिने बेला गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्री बनेका थापामाथि कारबाही गर्नुको सट्टा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र तथा आफूलाई पहिचानवादीको विल्ला भिडाउने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी समेतले विश्वासको मत दिनुले यो देशमा अझै पनि दलित, जनजाति, मधेशी, मुस्लिम, महिला राजनीतिको मूल प्रवाहमा आउँन नसकेको तथा एकल जातीय अग्राधिकार कायमै रहेको पुष्टि गरेको थियो ।

मैथिलीमा एउटा उखान छ– ‘ मिले मोछमे मोछ कि मिले धोंछमे धाेंछ ।’ सत्तागठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रका मुखियासंग यो उखान ठ्याक्कै मेल खान्छ । सत्ताका लागि दुबै नेता जे सुकै गर्न तयार हुन्छन् । इतिहास केलाउने हो भने गरेका पनि छन् । नभए कांग्रेससंग चुनावी गठबन्धन गरेका प्रचण्ड एमालेसंग मिलेर प्रधानमन्त्री बन्ने थिएन अनि आलोपालो प्रधानीमन्त्री बन्ने ग्यारेन्टी नभएको भए कांग्रेस सभापति शेरबहादुर देउवा विपक्षी खेमामा गई सकेका प्रचण्डलाई विश्वासको मत दिने थिएनन् ।

कोशीको निर्वाचन परिणामबाट बिच्किएका माओवादी केन्द्रले स्थायी समिति बैठकमा राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा आफ्नै पार्टीका नेतालाई अघि सार्ने निर्णय गरेको छ । उता अध्यक्ष बन्ने दाउँमा राष्ट्रिय सभा पुगेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला आफ्नो लियाकतले भ्याएसम्म दौडधूप गर्दै छन् । पार्टी नेतृत्वले पनि जोडजम गर्न छाडेको छैन् ।

माओवादी नेताहरुको बडि लंगवेज र प्रतिकृयामाथि ध्यानाकर्षण गर्दा सत्तागठबन्धन टुटको संघारमा देखिन्छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोशीमा माओवादीका राष्ट्रिय सभा उम्मेदवार पराजित भएपछि भिन्न राजनीतिक घटनाक्रमको विकास भएको भन्दै राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार खडा गर्ने निर्णय भएको प्रतिकृया दिएका थिए ।

प्रचण्डले राष्ट्रियसभा अध्यक्षको चुनावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता भइरहेको पनि खुलासा गरेका थिए । ‘यो विषयमा विभिन्न स्तरमा छलफल चलेको छ, तर अहिलेसम्म कुनै पनि ठोस निर्णय भइसकेको छैन’ पत्रकारहरुलाई प्रचण्डको जवाफ थियो । माओवादीले स्थायी समिति बैठकबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भोलिपल्टै प्रचण्डले एमालेसँग वार्ता भइरहेको अभिव्यक्ति दिएका थिए । फागुन ७ देखि १० गतेसम्म चलेको नेपाली कांग्रेसको विधान महासमिति बैठकमा जनयुद्ध, धर्मनिरपेक्षता आदि विषयमा भए÷गरेको टिप्पणीले पनि माओवादीलाई हच्काएको छ ।

अर्कोतर्फ कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन दुई पार्टीको नेतृत्वबीच भएको अनौपचारिक सहमति विपरीत माओवादीले उम्मेदवार अघि सार्नु उचित नहुने कांग्रेसको निष्कर्ष छ । माओवादीको निर्णयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति, महामन्त्री र संसदीय दलका प्रमुख सचेतकसँग बिहीबार गरेको बैठकले यस्तो निष्कर्ष निकालेको थियो ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति नजिकिदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्ड बीचको भेंटघाटले तीव्रता पाएको छ । नारायणी किनारमा उद्घाटन हुने भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहमा ओली जान तयार हुनु यसको पछिल्लो उदाहरण हो । जबकि शुक्रबार ओली सहभागी हुने पार्टी कार्यक्रमहरुको सूची पूर्वनिर्धारित थियो । तर प्रचण्ड पुत्री एवं भरतपुरका मेयर रेणु दाहालले फोन गरेपछि ओली, प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्रीहरुसँगै चितवन जान तयार भएको श्रोतबाट जानकारी भएको छ ।

वर्तमान सत्तागठबन्धन भित्र आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको सबैलाई थाहै छ । सहमति अनुसार प्रचण्डले अघिल्लो केही महिनाभित्र राजीनामा दिइ माधवकुमार नेपाललाई प्रधानमन्त्रीको पद हस्तान्तरण गर्नु पर्ने हो । तेश्रो चरणमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने तथा ८४ को आम निर्वाचन उनकै नेतृत्वमा हुने सहमति छ ।

यता प्रचण्ड प्रधानमन्त्रीको पद बचाइ राख्ने चक्करमा एमालेसंग सम्बन्ध विस्तार गर्ने रणनीतिमा छन् । उता सहमति अनुसार तेश्रो चरणका प्रधानमन्त्री शेरबहादुर देउवा जे गरेर भए पनि गठबन्धन जोगाई राख्न चाहन्छन् । अब हेर्न बांकी छ, सत्तागठ बन्धनलाई जोगाई राख्न प्रधानमन्त्री प्रचण्ड अनौपचारिक भए पनि समझौता अनुसार कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभामा अध्यक्ष बनाउन अग्रसर हुन्छ कि प्रधानमन्त्रीको पद लम्ब्याउन एमालेसंग अर्को सत्तागबन्धन गर्ने छन् ? कांग्रेस सभापति तेश्रो चरणमा प्रधानमन्त्री बन्ने अवसरलाई तिलाञ्जली दिई सिटौलालाई मैदानमा उतार्छन कि उतार्दैन ? कांग्रेस र माओवादी दुबैका फरक–फरक उम्मेदवार मैदानमा आए वर्तमान सत्ता गठबन्धन जोगिने संभावना अति न्यून हुने छ ।

Comment


Related News