अपडेट 
२०८० फाल्गुन २२, मंगलवार १९:४६

राजनीतिक दलहरु आफ्नो दलिय वैचारिक प्रतिबद्धता र जननीतिप्रति इमान्दार रहने स्थितिमा दलहरुको बीच मीत्रता र शत्रुता दुबै प्रष्ट हुन्छ । तर राजनीतिमा जसरीपनि सत्तामा टिक्ने प्रवृत्ति प्रमुख भएको, अझ गठबन्धन राजनीतिमा त सम्भावित परि स्थितिको मूल्यांकन र राजनीतिक दलको गतिविधि बारे अनुमान गर्न गाह्रो हुन्छ ।

नेपालको सत्ता राजनीति अहिले यस्तै स्थितिबाट गुज्री रहेको छ । सत्तामात्रको दार्शनिक विचारमा टिकेको बहुदलिय संसदिय राजनीति, अझ गठबन्धन राजनीति, चरित्रगतरुपमै गलाकाट प्रतिस्पर्धा हुनेगर्छ ।नेपालको सत्ता राजनीतिपनि यसभन्दा भिन्न छैन । यस्तो राजनीतिमा हरेक दलले आफ्नो बगलीमा छुरा लुकाउने गरेका हुन्छ । एक अर्कासंग घाँटी जोडेका दलहरु कतिबेला कस्को पिठ्युँमा छुरा रोपिदिने हुन् र को संग घाँटी जोडन जाने हुन ठेगान हुँदैन । कुनै बेला देखी न सहनेहरु मीत्र हुनसक्छन् भने हृदयसंग जोडिएका प्राण्प्रिय मित्रहरु कतिबेला दुश्मनको कित्तामा पुग्ने हुन ठेगान हुँदैन । नेपाली संसदीय राजनीतिमा एमालेलाई प्रवेश गराउन‘बहुदलीय जनवाद’ नामक संशोधनवादी विचारको विकास गर्नेनेपालमा सर्वाधिक लोकप्रिय मध्येका एक नेता मदन भण्डारीले भनेका थिए ः ‘राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मीत्र हुँदैन ।’

नेपालको वर्तमान संसदिय राजनीति र गठबन्धनको संस्कृतिमा यो भनाई सटिक बस्छ । यो लेख प्रकाशित हुन्जेलसम्म सत्तासमीकरण फेरिइसकेको हुनेछ । अहिलेसम्म विकासभैरहेको परिस्थतिको आधारमा भन्ने हो भने प्रधानमन्त्री त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनै रहने छन् । हालसम्मको प्रमुख सत्ता साझेदार नेपाली काँग्रेस प्रतिपक्षको बेन्चमा पुगीसकेको हुनेछ, भने प्रतिपक्षी एमाले सरकारी गठबन्धनको प्रमुख साझेदार दल बनिसकेको हुनेछ । तात्पर्य के हो भने नेपाली काँग्रेस र माओवादी केन्द्र सहितको गठबन्धन ओपचारिकरुपमा भत्कीसकेको छ ।

यो लेख लेखिरहँदा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आफ्नो पार्टीको सहमतिमा एमालेसंग मिलेर नयाँ गठबन्धन सरकार बनाउने प्रक्रियामा छन् । आज (फागनु २१ गते) साँझै प्रचण्डको नेतृत्वमै माओवादी केन्द्र, एमाले र रास्वपाका एक एक जना गरी तीन जना मन्त्रीले शपथ समेत लिने कुरा खबरहरुमा जनाइएको छ । यस नयाँ गठबन्धनमा हाल माके, एमाले, जसपा (जनता समाजवादी पार्टी) र रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) देखिएका छन् भने जनमत पार्टी र नाउपा (नागरिक उन्मुक्ति पार्टी)लगायतकोपनि सम्भावना व्यक्त गरिँदैछ ।

प्रधानमन्त्री प्रचण्डले यसमा माधवनेपालको एकीकृत समाजवादीलाई पनि समेटिने भनेपनि एकीकृत समाजवादीमा भने अन्यौल र असमञ्जसको स्थिति देखिन्छ । कुनै बेला एमाले अध्यक्ष केपी ओलीको राजनीतिक पेलान र लखेटानमा परेर एकीकृत समाजवादी पार्टी बनाउन पुगेको माधव नेपाल र उनका सहयोगीहरुको निम्ति ओलीकै वर्चस्वको गठबन्धनमा जाने निर्णय गर्नु कठिन चुनौती हुनेछ । यद्यपि प्रचण्डसंगको उनको हार्दिकता तथा एकीकृत समाजवादीपनि अन्ततः यसै गठबन्धन राजनीतिक संस्कृति र अस्थिर संसदिय राजनीतिको हिस्सा भएकोले यो पार्टी नयाँ गठबन्धनमा जाँदैन भन्नपनि गाह्रो छ । प्रचण्डले एमालेसंग मिलेर बनेको यस नयाँ गठबन्धनलाई वाम एकताको नयाँ अध्याय भनेर औचित्य साबित गर्न खोजेका छन्, र एकीकृत समाजवादीका अर्का वरिष्ठ नेता झलनाथ खनालले स्वागत गरेकोले एकीकृत समाजवादी बारे यसै केही भन्न हतारो हुनेछ । यस नयाँ गठबन्धनले संसदभित्र एकखालको नयाँ उथलपुथल सृजना गरेको देखिन्छ । राजतन्त्रको सवालमा एमाले र माओवादी दुबै असहिष्णु देखिएकोले यस नयाँ गठबन्धनमा राप्रपाको निम्ति स्पेस देखिँदैन ।

विगतको तुलनामा यस पटक राप्रपा लगायतका राजतन्त्रवादी पार्टीहरुले पूर्व राजा ज्ञानेन्द्र शाहलाई खुलेर नै बोकेर आफ्नो राजनीतिक गतिविधिमा लागकोले एमाले र माके उनिहरुप्रति रुचि देखाइरहेका छैनन् ।त्यसैले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन र यस पार्टीका अन्य नेताहरु सत्ता राजनीतिमा भएको यस नयाँ विकासप्रति आफूलाई निरपेक्ष देखाउन खोज्दै छन् । यद्यपि गतवर्ष प्रचण्ड र ओलीको गठबन्धनको सरकार बनेको बेला राप्रपापनि सरकारमा सामेल रहेको हुनाले यस पटक उनीहरुको यो निरपेक्षता कायमै रहनेछ वा एमाले र माकेको उनीहरुप्रतिको अरुचि फेरिन्छ वा फेरिन्न भन्न गाह्रो छ । यस नयाँ गठबन्धनको विकासले अन्यौलमा पर्नेमा महन्थ ठाकुर नेतृत्वको लोसपा (लोकतान्त्रिक समाजवादी पार्टी)पनि छ । भर्खरै राजेन्द्र महतो र अनिल झाले लोसपा त्यागेको कारण लोसपा अध्यक्ष ठाकुरलाई पार्टी जोगाउन ठुलो चुनौती छ ।

यस्तोमा लोसपाभित्र कुनै नयाँ आकर्षण पैदा गर्न सकिएन भने ठाकुरलाई पार्टी जोगाउन धौ धौ हुने देखिन्छ । आखिर यी मधेशकेन्द्रित राजनीतिक दलहरु अन्ततः सत्ता र सरकारमा सानै भएपनि भाग खोज्न गठन भएको तथ्य पटक पटक प्रमाणित हुँदै आएको छ । भत्किएको गठबन्धन सरकारमा पनि लोसपाका एक जना मन्त्री छँदैछन् । यस्तोमा नयाँ गठबन्धनमा समर्थन गर्न र सरकारमा अवसर खोज्न ठाकुरमाथी दबाब हुनु स्वाभाविक नै देखिन्छ । तर महतोले पार्टी छाडेको कारण कमजोर लोसपाप्रतिको मूल्यांकन र व्यवहारमा फरक आउन सक्छ । भागबन्डा झन सानो हुनसक्छ ।

यस्तोमा लोसपाले कुनै निर्णय गर्नुमा ठाकुरको स्वाभिमानी तेवर चुनौतीको रुपमा तेर्सिन सक्छ । डा. सी.के. राउत नेतृत्वको जनमत पार्टी, हालसम्म गठबन्धनप्रति सकारात्मक देखिएपनि जसरी उसले मधेश प्रदेशमा मूख्यमन्त्रीमा दावी गरेर शर्त तेर्साएको छ, त्यसले उसको बारेपनि अहिले केही भन्नु हतार हुनेछ । नेपाली राजनीतिमा माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड जसरी अवसरमुखी, अनिश्चित र अस्थिर देखिन्छन्, मधेशी राजनीतिमा जनमत पार्टी र यसका अध्यक्ष डा.राउतपनि त्यसरी नै अनिश्चित प्रवृत्तिसहित उदाएका छन् ।

मधेश प्रदेशमा जसपा र उपेन्द्र यादवको कटु विरोध र अर्कोतिर जसपाकै नेतृत्वको सरकारमा सहभागिता र अकस्मात कारण देखाउँदै सरकारबाट बाहिरनु, त्यसरी नै एकातिर कम्युनिस्टहरुको कट्टर वैचारिक विरोध र अर्कोतिर कहिले प्रचण्ड र कहिले ओलीको निकटता, कहिले सरकारमा त कहिले मन्त्रीपदको सामान्य किचलो झिकेर सरकारबाट बाहिरिनुले जनमत पार्टीको असामान्य व्यवहार दर्शाउँछ । तर विगतमा आपसमा जतिसुकै कट्टु खोलाखोल र खुइल्याउने गरेको भएपनि यस नयाँ सरकारी गठबन्धनमा माके, एमाले, जसपा र रास्वपा हाल स्थायी दलका रुपमा देखिएका छन् । यस नयाँ गठबन्धन बारे नेका सभापति शेरबहादुर देउवा लगायतले प्रचण्डले धोका दिएको भनेपनि माके र एमालेका नेताहरुले यसलाई स्वाभाविक र छिटोछिटो परिवर्तनको कदम भनेका छन् ।

प्रचण्डले यसलाई आफ्नो गतिशील चरित्रको परिणाम र आफू मर्दासम्म यस्तो उथलपुथल भइरहने भनेका छन् । एमाले अध्यक्ष ओलीले यसलाई वर्तमान परिवर्तनको छिटोछिटो गति भनेका छन् । जसपा र रास्वपा लगायतका भनाइहरु खासै महत्व राख्दैनन्, किनभने संसदीय गठबन्धन राजनीतिमा साना दलहरु आफ्ना सत्तास्वार्थ पूरा गर्नका निम्ति समीकरणमा बहुमत पूरा गर्ने ‘थपन’ पार्टीभन्दा बढी हुँदैनन् । यस नयाँ गठबन्धनलाई पनि दुई गूटमा विभाजित गर्ने हो र विगतमा भएको अभ्याससंग तुलना गर्ने हो भने प्रचण्डको गुटमा जसपा र ओलीको गुटमा रास्वपा देखिन्छ । यससंगै यस समीकरणमा थपिने अन्य साना दलहरुपनि यी दुई गुटकै हिस्सा हुने तय नै छ । गठबन्धनमा यिनीहरुले आफूलाई स्वतन्त्र, वैचारिक र एजेन्डाप्रति प्रतिबद्ध भन्नु जनतासामू अनुहार छोप्ने प्रयत्न मात्र हुनेछ । वास्तविक कुरा के हो भने जनताभन्दा विमुख सत्ता राजनीतिमा अवसर नै मुख्य हुन्छ ।

मन मिलेसम्म मीत्र, होइन भने जुनसुकै बेलापनि धोखा दिनु गठबन्धन राजनीतिको खुला सूत्र हो। विगत झैँयसपटकपनि यस्तै भएको हो । शुरुमासंसदिय निर्वाचनको बेला भएको सहमति विपरीत नेका सभापति देउवाले प्रचण्डलाई प्रधानमन्त्रीपद दिन चाहेनन् र गतवर्ष पौष १०गते प्रचण्डले ओलीसंग मिलेर सरकार बनाए । एमालेसंगको गठबन्धन सरकारमा ओलीले प्रचण्डलाई हेपे, आफूखुशी गर्न दिएनन् (रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने सन्दर्भमा), ६४दिनपछि उनले सुटुक्क फेरी नेकासंग मिलेर नयाँ सरकार बनाए । यसपटक नेकाले कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा सहमति विपरीत माकेका उम्मेदारलाई सहयोग गरेनन्, आफू खुशी मन्त्रीपरिषद पुनर्गठन गर्न दिएनन् । प्रत्युत्तरमा, राष्ट्रियसभाको अध्यक्ष पदमा माकेले पनि सहमति विपरीत आफ्नो दावी छाडेन ।

त्यसरी नै नेकाको आन्तरिक बैठकहरुमा नेताहरुले जनयुद्ध र माके बारे जसरी कटुशैलीमा विषाक्त विचारहरु राख्ने गरेका थिए, त्यसलेपनि माके र प्रचण्डलाई असन्तुष्ट बनाउँदै लगेको थियो । विवाद बढ्यो, सरकारको अस्तित्वमाथी संकट देखिन थाल्यो र नेकाले कुनै विकल्प खोज्नुभन्दा पहिले नै, आफ्नो उम्मेदवारलाई जिताउन प्रचण्डले फेरी पुरानै तरिका रोजे । उनले पुराना सबै तिक्तता बिर्सेर एमालेसंग मिलेर नयाँ गठबन्धन सरकार गठन गरे । अवसरको खोजीमा रहने र जसरीपनि सत्तामा टिकी रहने राजनीतिमा ‘तू नही तो और सही, और नही तो और सही’को प्रवृत्ति अनौठो होइन, र सत्ताको निम्ति त्यत्रो जनयुद्धलाई समेत आफू अनुकूल रुपान्तरण गरिआएको प्रचण्डको निम्ति त झन् यो अनौठौ होइन । नेपालको वर्तमान राजनीतिमा प्रचण्ड सबैभन्दा अस्थिर (उनको शब्दमा गतिशील) म्याटेरियल हुन्, जस्लाई बडो सावधानीपूर्वक प्रयोग गर्नु पर्छ ।

एउटा कुरा त निश्चित छ, आफ्नो उद्देश्यपूर्तिको निम्ति उनीभन्दा चतुर र सम्भावित स्थितिलाई आकलन गर्नसक्ने राजनीतिज्ञ नेपाली संसदीय राजनीतिमा हाल अर्को देखिएका छैनन् । वैचारिकी र जनहितको दृष्टिले वर्तमानमा समग्र सत्तावृत्त पटक पटक छली संरचना साबित हुँदैआएको छ । यसपटक पनि भिन्न छैन । आफूलाई माक्र्सवादी र लेनिनवादी भन्ने एमाले र माकेले यस नयाँ गठबन्धनलाई वाम एकताको नयाँ अध्याय र सबै वामपन्थी दलहरुलाई सरकारमा समेटने कुरा गर्दैछन् । यस्तो भै दिए त राम्रो हुने थियो । तर यथार्थ के हो भने यो सत्ताको निम्ति गरिएको गठबन्धन मात्र हो ।

अवसर अनुकूल भएन भने विगत जस्तै यो गठबन्धनपनि जुनसुकै बेला भत्किने सम्भावनापनि त्यतिकै छ । यस्तो किन भनियो भने यो गठबन्धन वाम एकताको कुनै वैचारिक प्रक्रिया र बहसबाट गुज्रेर बनेको छैन । यसबाट जनताले के अपेक्षा गर्ने त ? केही होइन, कागलाई बेल पाक्यो, हर्ष न बिस्मात ! यस्तो किन भनियो भने यो नयाँ गठबन्धनपनि विगत जस्तै कुनै जनताका विषयमा विवाद भएर बनेको होइन । राजनीति, सरकार, वित्तीयतन्त्र र कर्मचारीतन्त्रका अनैतिकता, अराजकता, भ्रष्टाचार र अनियमितता सबैतिर यथावत रहनुको बीच यो नयाँ गठबन्धन बनेको हो । अझ नयाँ सरकारमा आउने राजनीतिक दलका कयौँ नेताहरु स्वयं भ्रष्टाचार र अनियमितताका आरोपित पात्रहरु हुन् । यी पात्रहरु बारे गठबन्धनदलकै कयौँ सांसद र नेताहरुले सार्वजनिकरुपमा आरोप लगाउने गरेका छन् । तर यसबेला ती सबै आरोपहरु ओझेलमा पारिएका छन् ।

त्यसैले यस नयाँ गठबन्धनबाटपनि जनताले कुनै अपेक्षा नराखे हुन्छ । वस्तुतः समग्र राजनीतिको चरित्र जनवादी नहुन्जेल सम्म र यस अनुसार व्यवस्थापकीय संरचनामा निर्णायक परिवर्तन नआएसम्म जनताको अपेक्षा पूरा हुने सम्भावना छैन । यो नयाँ गठबन्धनको सरकार संसदीय राजनीतिमा नियमित निरन्तरतामा सामान्य हेरफेर मात्र हो ।

Comment


Related News