अपडेट 
२०८० फाल्गुन २३, बुधबार ०७:१६

काम सम्पन्न भएको डेढ वर्षभइसक्दा पनि भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरुले जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

मंगलवार विहान साढे १० वजे दर्जनभन्दा बढी निर्माण व्यवसायीहरुले जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय जनकपुरधामका प्रमुखको कार्यकक्षमै पुगेर आफूहरुले काम सम्पन्न गरेको डेढ वर्षभन्दा बढी समय बितिसक्दा पनि भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शन गर्दै नारावाजी गरेका थिए । भुक्तानीका लागि पटक–पटक आफूहरु कार्यालयमा आउने गरे पनि कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले आक्रोस व्यक्त गरेका थिए ।

आर्थिक वर्ष ०७९/०८०मा धनुषाको हँसपुर नगरपालिका स्थित सिकहायी नदीमा जाली बोल्डरको काम गरेका रोयल बिल्डर्सका सञ्चालक मनमोहन शर्माले काम सम्पन्न भएको डेढ वर्ष भइसक्दा पनि कार्यालयले भुक्तानी दिन आनाकानी गरिरहेको आरोप लगाए । १ करोड ८८ लाखको काम करिब ५२ प्रतिशत बिलोमा गरेर दिए, उनले भने,‘ एक त काम गराउदाँ धेरै नोक्सानीमा गएको छु । त्यसमा पनि समयमा भुक्तानी नपाउँदा थप आर्थिक क्षति भइसकेको छ ।’ टेण्डर मार्फत सबै प्रक्रिया पूरा गरेर काम गरेको छु उनले भने,‘ सम्झौता र कार्यादेश छ । समय भित्र काम सम्पन्न गरी निरीक्षण गराएर बिल भरपाई सबै बुझाएको थिए । तर अन्तिम समयमा बजेट नरहेको र आगामी आर्थिक वर्षमा वजेट व्यवस्थापन गरिदिने भनियो । त्यो पनि सहेर बसे ।

अहिले वजेट आउँदा पनि कार्यालयले बिभिन्न बहाना बनाएर भुक्तानी दिन आनाकानी गरिरहेको छ ।’ उनले कार्यालय प्रमुख माधव देव र लेखापल रामप्रवेश यादवले मिलेमतो गरी आफ्नो भुक्तानी रोकेको दावी गरे । समयमा भुक्तानी नपाउँदा मजदुर, अन्य व्यापारीहरुबाट दैनिक रुपमा ताकेता आउने गरेको बताउँदै उनले भने,‘ आफ्ना घर जग्गाहरु बैंकमा धितो राखेर काम गरेको छु । तर समयमा भुक्तानी नपाउँदा मानसिक तनाव भएको छ ।’ शर्माले कार्यालयमाथि ३९ लाख ५६ हजार रुपैयाँ वाँकी वक्यौता रहेको बताए । उनीसँगै रहेका एक अर्का ठेकेदारले पनि काम सम्पन्न गरेको झण्डै दुई वर्ष हुन लाग्दा पनि झण्डै ५० लाख भुक्तानी नपाएको दुखेसो पोखे ।

यता, कार्यालय प्रमुख माधव देवले लेखापाल यादवको लापरबाहीले कतिपय ठेकेदारको भुक्तानी रोक्न पुगेको बताए । हाम्रो कार्यालयमा लेखापाल छैन, उनले भने,‘ लेखापाल यादव प्रदेश कोष तथा लेखानियन्त्रक कार्यालयबाट थप जिम्मेवारी आएर हाम्रो कार्यालयको आर्थिक प्रशासन हेर्नुहुन्छ । तर उहाँले समय नदिँदा कतियय योजनाहरुको भुक्तानी रोकिन पुगेको छ ।’ विगतका कार्यालय प्रमुखहरुले गरेका प्रक्रियागत त्रुटिका कारण केही योजनाहरुको भुक्तानी रोकिएको उनले बताए । उनले एक सप्ताह भित्रमा समस्या सम्बोधन गर्ने आश्वासन दिएपछि निर्माण व्यवसायीहरु कार्यालयबाट फर्केका थिए ।

Comment


Related News

Latest News

Trending News