अपडेट 
२०८० फाल्गुन २३, बुधबार ०७:२०

धनुषा जिल्लाको उत्कृष्ट एवं प्रतिष्ठित फकिरचन्द गामी माध्यमिक विद्यालयको अवस्था अहिले दयनीय बन्न पुगेको छ ।

सबैला नगरपालिका–१२, बरकुर्वास्थित सो विद्यालय २०१६ सालमा स्थापना भएको छ । व्यवस्थापन र स्थानीय तहको कमजोर उपस्थितिले विद्यालयको शैक्षिक गुणस्तर जर्जर अवस्थामा पुगेको छ ।

यसै विद्यालयमा पढेका विद्यार्थी सफल राजनीतिज्ञ, मन्त्री, गर्भनर र उच्च ओहदामा पुगेका छन् तर पछिल्लो केही वर्षयता विद्यालयमा पढाइको स्तर खस्किएको छ । विद्यालयको अवस्था अस्तव्यस्त बनेको छ । सबैला नगरपालिकाको शिक्षा शाखाका अनुसार सो विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्मको पढाइ हुन्छ । विद्यालयमा ५४५ जना विद्यार्थी भर्ना भएका छन् । १७ जना शिक्षक कार्यरत छन् तर पठनपाठन राम्रो नहुँदा दुई सय विद्यार्थी पनि नियमित उपस्थित नहुने बताइन्छ ।

गुणस्तरीय र पूरा समय पढाइ नहुने भएकाले कम संख्यामा विद्यार्थी आउने गरेको विद्यार्थीको भनाइ छ । स्थानीयका अनुसार विद्यालय भवन जीर्ण बनेको छ । भवनका भित्ता चर्केको छ । कतै बरन्डा फुटेको छ । विद्यालय परिसरमा बनेको नयाँ भवनसमेत प्रयोगविहीन छ । जताततै उम्रेको झाडी, माकुराको जालो र फोहोरमैलाले विद्यार्थी पढ्ने विद्यालय नभएर गाईवस्तुको गोठ जस्तै बनेको छ ।

स्थानीय विनोदकुमार साहले विद्यालयका प्रधानाध्यापक बैजु साहले मनपरी प्रशासन चलाउँदा पछिल्लो केही वर्षयता विद्यालयको अवस्था खस्किएको बताए । उनले प्रधानाध्यापकले मनमौजी पारामा विद्यालय प्रशासन चलाएको तथा पठनपाठनप्रति मतलब नराखेका कारण विद्यालय यो अवस्थामा पुगेको बताए । उनका अनुसार बरकुर्वा मावि नामले चिनिएको यो विद्यालय कुनै बेला गुणस्तरीय पढाइ हुने विद्यालयका रूपमा प्रसिद्ध थियो ।

आज जिल्लाकै सबैभन्दा खराब विद्यालयका रूपमा नाम जोडिँदा खिन्न लाग्ने साहले बताए । उनले विद्यालयको अवस्था सुधार गर्न खोज्दा प्रधानाध्यापकबाटै असहयोग र अवरोध भएको बताए । उनले भने, “गुणस्तरीय पढाइ तथा नियमित रूपमा कक्षा सञ्चालन गराउन विद्यार्थी र शिक्षकबीच समन्वय गरायौँ ।

छोटो समयको प्रयासमै पढाइमा परिवर्तन आउनै लाग्दा प्रधानाध्यापक साहले अवरोध खडा गरे ।” उनका अनुसार विनोदकुमार पाल अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समिति हुँदाहुँदै प्रधानाध्यापकले भित्रभित्रै वडासदस्य शिव राउतको अध्यक्षतामा अर्को व्यवस्थापन समिति बनाइदिएपछि विद्यालय राजनीतिक विवादमा परेको थियो । उनका अनुसार १७ जना शिक्षकमध्ये पाँच/छ जनालाई प्रधानाध्यापक साहले आफ्नो ‘एस म्यान’ बनाएका छन् । उनीहरू विद्यालय उपस्थित नभए पनि तलब लिन्छन् ।

त्यही सिको अन्य शिक्षकले पनि गर्न थालेका छन् । विद्यालयमा निम्न माध्यमिक तहसम्म नजिकैका गरिब तथा विपन्न मुसहर र मुस्लिम समुदायका बालबालिका पढ्छन् । माध्यमिक तहमा निकै टाढासम्मका प्रायः गरिब परिवारकै विद्यार्थी पढ्न आउँछन् । समुदायका गरिब विद्यार्थी पढ्ने हुनाले प्रशासनदेखि स्थानीय सरकारसम्मले विद्यालयको शिक्षा सुधारमा कुनै प्रयत्न नगरेको अभिभावकको भनाइ छ ।

विद्यालयको शैक्षिक तथा व्यवस्थापन सुधारको माग गर्दै सोही विद्यालयका ११ जना शिक्षकले सबैला नगरपालिकाको शिक्षा शाखा कार्यालय अगाडि केही दिनअघि धर्ना बसेका थिए । प्रधानाध्यापक साहकै कारण पठनपाठन खराब अवस्थामा पुगेको तथा आर्थिक हिनामिना बढेको आरोप उनीहरूको थियो ।

सबैला नगरपालिकाका प्रमुख कारीराम यादवले बरकुर्वा माविको अवस्था लथालिङ्गबारे आफू जानकार रहेको बताए । उनले केही दिनअघि बसेको सर्वपक्षीय छलफलबाट प्रधानाध्यापक साहमाथि छानबिन गरिने निर्णय भएको जानकारी दिए । प्रधानाध्यापक साहले आफू विद्यालयलाई राम्रो बनाउने प्रयास गर्दागर्दै पनि चौतर्फी घेराबन्दी गरिएको बताए । उनले भने, “विभिन्न स्वार्थ राखेर मलाई अवरोध गरिरहन्छन् । राम्ररी काम गर्न दिँदैनन् । अहिले पनि विद्यालयमा राम्रो पढाइ हुन्छ ।”

Comment


Related News

Latest News

Trending News