अपडेट 
२०८० फाल्गुन २४, बिहीबार ०७:१८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनर्गठन गरेको मन्त्रिमण्डलको दोस्रो वरियताको उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको रुपमा नेकपा एमालेका सचिव रघुवीर महासेठले सपथ लिएका छन् ।

शितल निवासमा आयोजित सपथ ग्रहण समारोहमा १४ जना मन्त्रीले बुधवार सपथ लिएका छन् । तीन जना मन्त्रीले यस अघि नै सपथग्रहण गरेका थिए । सरकारमा उपप्रधानमन्त्री रहेका तीनै जना यस अघि पनि उपप्रधानमन्त्री रहिसकेका छन् । उनीहरुको सरकारमा प्रधानमन्त्री पछिको वरियतामा नेकपा एमालेको तर्फबाट महासेठ उपप्रधानमन्त्री बनेका छन् ।

माओवादीबाट उपप्रधान तथा परराष्ट्र मन्त्री बनेका नारायणकाजी श्रेष्ठ तेस्रो वरियतामा र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने चौथो वरियतामा परेका छन् ।

उपप्रधानमन्त्री महासेठले सरकारमा एमालेको नेतृत्व गर्नेछन् ।एमालेबाट उनको नेतृत्वमा ८ जना सरकारमा छन् । सबै भन्दा बढी मन्त्रालय एमालेको भागमा नै परेको छ । महासेठ दोस्रो पटक उपप्रधानमन्त्री बनेका छन् । उनी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला उपप्रधान तथा परराष्ट्र मन्त्री बनेका थिए । भौतिक पूर्वाधार मन्त्री रहिसकेका महासेठको अनुभवले यस पटक काम गर्न सहज हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्रबाट ५ जना मन्त्री बनेका छन् । रास्वपाको भागमा ४ वटा मन्त्रालय परेको छ । सरकारमा पार्टीको नेतृत्व अध्यक्ष लामिछानेले गरिरहेका छन् । सरकारमा सहभागी भएका नेकपा एसले २ वटा मन्त्रालय पाएको छ । नेकपा एसले सरकारमा जाने निर्णय बुधवार सबेरै गरे पनि मन्त्री छान्न ढिला गरेकाले सपथग्रहण पनि निर्धारित समय भन्दा ढिलो भएको थियो ।

स्रोतहरुका अनुसार अध्यक्ष नेपाल सरकारमा सहभागी हुन इच्छुक नरहे पनि नेता झलनाथ खनाल लगायतका सांसदहरुको दवाव खप्न नसकेर अन्तिम समयमा निर्णय लिन बाध्य भएका थिए । वर्तमान सत्ता गबठन्धनको आठ बुंदे सहमति पत्रमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने सरकारमा सहभागिता जनाएको छैन् ।

जसपा कार्यकारिणी समितिको बैठकमा सरकारमा मन्त्रीका लागि नाम पठाउने विषयमा सहमति जुट्न नसकेकाले दोस्रो पटकको विस्तारमा समेत परेको छैन् । जसपा सहभागी नभएपनि सरकारमा मधेश प्रदेशबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री महासेठ र कृषि तथा पशुपंक्षी मन्त्री ज्वाला साह बनेकी छन् । दुबै जना एमालेका नेता छन् ।साह बारा जिल्लाबाट निर्वाचित सांसद हुन् ।

प्रधानमन्त्री प्रचण्डसित वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाँकी रहेको छ । यस अघिको गठबन्धन सरकारमा जसपाले शिक्षा र वन मन्त्रालय पाएको थियो ।

जसपा सरकारमा गए वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने छ । लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) , जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टीको सरकारमा सहभागिताको मार्ग बन्द भए जस्तो छ ।

कांग्रेस सहितको गठबन्धन सरकारमा लोसपाले एउटा, जनमतले एउटा र नागरिक उन्मुक्ति पार्टीले एउटा मन्त्रालय पाएको थियो ।

जसपा सरकारमा सहभागी नभए पनि समर्थन दिएको र नेकपा एस पनि सरकारमा सहभागी भएकाले प्रधानमन्त्री प्रचण्डलाई बहुमतको समस्या हुने देखिदैन् । तर जसपाले साथ छाडे सरकारलाई संसदमा विश्वासको मत लिन समस्या हुन सक्नेछ ।

Comment


Related News

Latest News

Trending News