अपडेट 
२०८० फाल्गुन २५, शुक्रबार ०७:२१

सप्तरीको शम्भुनाथ नगरपालिकामा सशस्त्र प्रहरीको कल्याणकारी सेवा अन्तर्गत संचालित नेपाल एपीएफ ठाको देवी जोगेन्द्र आवासीय विद्यालयका प्राचार्य चन्द्र शेखर देवले आफूलाई विद्यालयका समादेशक र जग्गादाताले डर त्रास र फसाउने धम्की दिदै जबरजस्ती राजीनामा गर्न लगाएको आरोप लगाएका छन् ।

राजविराज १३ निवासी देव २०७८ माघ २ देखि सो विद्यालयमा प्राचार्य पदको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले ४ दिन अघि फागुन २० गते सो पदबाट राजीनामा दिएका छन् । “सुरक्षाकर्मी राखेर समादेशक डिएसपी दिपक खनालले डर, त्रास र धम्की दिदै जबरजस्ती राजीनामा गर्न लगाएका छन्, देवले भने–‘त्रासपूर्ण अवस्था सृजना गरेपछि राजीनामा लेख्न बाध्य भए ।” विद्यालयको हरेक गतिविधिमा निरन्तर हस्तक्षेप तथा अस्तव्यस्त व्यवस्थापनबारे प्रश्न उठाउँदा विद्यालयको जग्गा दाता जोगेन्द्र भगत समेतको मिलेमतोमा आफूमाथि यस्तो व्यवहार गरिएको उनको भनाइ छ ।

बिहीबार राजविराजमा सञ्चारकर्मीहरु सित कुरा गर्दै उनले सुरक्षा दिने स्थलमा आफू असुरक्षित भएको महसुस भएपछि राजीनामा दिएर न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिएको बताए । उनले विद्यालय संचालनको हरेक विषयमा समादेशक र जग्गादाताले अनावश्यक हस्तक्षेप गर्ने गरेको र त्यसबारे प्रश्न उठाउँदा आफूलाई षडयन्त्र गरी राजीनामा गर्न बाध्य बनाइएको बताए ।

विद्यालयको जग्गादाता जोगेन्द्र भगतले भने प्राचार्य देवले लगाएको आरोप निराधार रहेको दाबी गरे । “पदीय आचरण विपरीतका काम गर्दै आएकाले सहज ढंगले “तपाई राजीनामा दिनुस, भनी मात्र भनिएको हो उनले भने–‘समादेशक वा अन्य कुनै पनि ब्यक्तिबाट यस्तो दुव्र्यहार र दबाव दिइएको छैन ।” सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाले प्राचार्य देवमाथि त्यस्तो कुनै प्रकारको दुव्र्यवहार नगरिएको भन्दै यो प्रहरी संगठनलाई बदनाम गर्ने प्रयास मात्र भएको बताए ।

Comment


Related News

Latest News

Trending News