अपडेट 
२०८० फाल्गुन २६, शनिबार ०८:०१

महोत्तरीमा बसोबास गर्ने जनजातिहरूको संस्कृति संरक्षण संवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको आदिवासी जनजाति महोत्सवको चौथो संस्करण बर्दिबासमा सुरु भएको छ ।

महोत्सवको पहिलो दिनमै अवलोकनकर्ताको उत्साहजनक सहभागिताले सुस्त बनेको यहाँको व्यापार व्यवसायलाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा जगाएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् महोत्तरीले आयोजना गरेको महोत्सवको बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्री तथा महासङ्घ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले एक समारोहबिच पानसमा बत्तीबाली संयुक्त उद्घाटन गरेका थिए । उद्घाटनअघि महोत्तरीमा बसोबास गर्ने मगर, भुजेल, तामाङ, नेवार, थारु, दनुवार, राई, मण्डल, माझी लगायत ९ प्रकारका जनजातिले आ–आफ्नो जातीय पहिचान झल्काउने भेषभुषासहित भव्य ¥याली निकालेका थिए ।

जनजातीका ग्रामीण कलाकारको जातीय विविधतासहितको धार्मिक सांस्कृतिक झाँकी, लोक संस्कृतमा आधारित गीत, नृत्य र रहनसहनका प्रस्तुतिले महोत्सवको सुनमा सुगन्ध थपेको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले जनजाति महोत्सवले बर्दिबासको पहुँच र पहिचानलाई देशव्यापी बनाउन योगदान पुग्ने धारणा राखे । महोत्सवले यहाँको संस्कृति, भेषभुषा, व्यापार व्यवसाय, कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणमा ठोस योगदान पुग्ने अपेक्षा जगाएको उनले बताए ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष घर्तीले यस्ता महोत्सवको आयोजनाले जनजातिको परम्परा र संस्कृतिलाई पहिचान र पुस्तान्तरण गर्न योगदान पुग्ने धारणा राखे । महोत्सव स्थलमा व्यापारिक प्रयोजनका १५० स्टल राखिएको छ । तीमध्ये ९ स्टल आदिवासी जनजातीका विविध प्रदर्शनका लागि छुट्याइएको छ । बाँकी रहेको १ सय ४१ स्टलमध्ये पनि कृषि उत्पादन, रैथाने सामग्रीका लागि निःशुल्क र स्थानीय व्यापारीका लागि २५ प्रतिशत छुटको सुविधा छ । “महोत्सवमा स्थानीय व्यापार र उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्न स्टल राखिएको छ,“ आयोजक महासङ्घका अध्यक्ष धमनारायण श्रेष्ठले भने, “बचेका स्टल बाहिरका व्यापारीलाई दिइएको छ ।“ महोत्सवमा स्थानीय परम्परागत संस्कृति झल्कने होटल, स्थानीय कृषि एवम् घरेलु उत्पादन, राष्ट्रिय कम्पनीका सामग्री राखिएको छ ।

महोत्सवमा पहाडी तथा तराईका जिल्लाबाट समेत व्यापारीहरू आएको आयोजकले जनाएको छ । स्थानीय मौलिक उत्पादनसाथ सुदूर क्षेत्रबाट आएका व्यापारिक कारण महोत्सवमा विविधता थपिनुका साथै बजार विस्तार एवम् अवसर सिर्जनामा योगदान पुग्ने श्रेष्ठले बताए ।

चैत ५ गतेसम्म आयोजना हुने महोत्सवलाई भव्य, उदाहरणीय र स्मरणीय बनाउन विविधता झल्कने एकपछि अर्को मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमकोसमेत व्यवस्था गरिएको छ । यस्तै, रोटे पिङ, झुला पिङ, रेल गाडी जस्ता बाल मानोरन्जनका लागि विविध इभेन्टस राखिएको छ ।

Comment


Related News

Latest News

Trending News