अपडेट 
२०८० फाल्गुन २७, आईतवार ०६:३७

राष्ट्रिय मुक्ति क्रान्ति अभियानका अगुवा राजेन्द्र महतोले अहिलेसम्म नेपाल सबै नेपालीको देश बन्न नसकेको बताएका छन् ।

जनकपुरधाममा शनिबार राष्ट्रिय मुक्ति क्रान्ति, मधेश ब्यूरोद्वारा आयोजित बहुल राष्ट्रिय राज्य स्थापनार्थ बृहत् संवादात्मक कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता महतोले सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक रहेको बताए । लोसपा नेपालका पूर्व वरिष्ठ नेता महतोले अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले अहिलेको सरकारबाट केही प्राप्त गर्न नसक्ने दाबी गरे ।

उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभइ कुर्सी बचाउनका लागि मात्रै भएकोले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताए । समान नेपालको सहकार्यमा भएको सो कार्यक्रममा उनले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने टिप्पणी गरे । अभियानका नेता महतोले भने–‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक छ ।’ उनले अघि थप्दैँ भने– ‘ अहिले नेपाल एकल राज्यको रुपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरुको देश बनाउनका लागि एकत्रित रुपमा आन्दोलन गर्नु अहिलेको आवश्यकता रहेको छ ।’ उनले अब कुनै पनि लक्ष्य नरहेको बताउँदै बहुल राष्ट्र राज्य निर्माण एक मात्र उद्देश्य हुने र त्यसका लागि मिल्ने शक्तिहरु बीच सहकार्य भएर मात्र पार्टीको निर्माण हुने बताए । उनले अहिले बनेको गठबन्धन पनि पालै पालो लुट मचाउने समूह मात्र रहेको आरोप लगाए ।

१२ प्रतिशत खस शासक मिलेर पालै पालो ढुकुटी लुट्नका लागि वर्तमान गठबन्धन बन्ने, भत्किने र फेरि बनेको उनको भनाइ थियो । उनले मधेश केन्द्रित दलहरुबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु पर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा सहभागी भएका लोसपा नेपालका उपाध्यक्ष कौशलकुमार सिंहले अहिले राष्ट्रिय मुक्तिका लागि अभियान चलिरहेकाले आफू यस कार्यक्रममा सहभागी भएको दाबी गरे । उनले अहिले यो अभियान कुनै पनि पार्टी नभइसकेकाले आफूmसमेत सहभागी भएको प्रस्ट्याए । सो कार्यक्रममा बुद्धिछिरिंग तामांगले मधेशी, आदिवासी, जनजाति, थारु र दलित, पिछडिएका समुदायले कुर्सीको राजनीति गरे पनि वैचारिक राजनीतिक गर्न नसकेको भन्दै समस्या यथावत रहेकाले सत्ता भन्दा पनि क्रान्तिका लागि केही वर्ष खर्चिनु पर्ने उनले सुझाए ।

उनले मधेशी, नेवार, तामांग, थारु, गुरुङ्ग, दलित, पिछडावर्गलगायत हरेक समुदाय एक भएर गोर्खाली शासनको अन्त्य गर्नुपर्ने बताए । उनले राजेन्द्र महतो अहिलेको क्रान्तिको अगुवाई गर्नुपर्ने बताए ।

नेवार अगुवा सुमन श्यामीले मधेशी जस्तै काठमाण्डुको नेवारको पीडा मिल्दाजुल्दो रहेको भन्दै यस अभियानमा आफू पनि लागेको बताए । काठमाण्डुको मेयर भन्दा पनि मुक्तिको योद्धा हुन मन लागेकाले मुक्ति अभियानको आवश्यकता रहेको बताए ।

युवा नेता केशव झाले कांग्रेस, एमाले र माओवादीबाट आएर मधेशी दलको नेतृत्व गरेका नेताहरुको अगुवाइमा मधेश र मधेशीको मुक्ति सम्भव नरहेको बताए । उनले मधेश र मधेशीको मुक्तिका लागि हरेक प्रदेशमा समेत पहलकदमी लिनुपर्ने बताए ।

अभियानी राजीव झाले मधेशीको मुक्तिको लागि क्रान्तिको विकल्प नभएको बताए । उनले मधेशी, आदिवासी, जनजाति, महिला, दलित, पिछडावर्गलगायत सात वटै प्रदेशमा सबै समुदायको मुक्तिका लागि क्रान्ति अभियान चलाउनुपर्ने बताए । बहुल राष्ट्रिय राज्य स्थापनार्थका लागि अहिलेको अभियानले नै मुक्ति सम्भव भएकाले यस अभियानमा सबै प्रदेशबाट जुट्नु पर्ने र अन्तिम धक्काको तयारीमा हामी लामबद्ध भएकोले क्रान्तिमा जुट्न नेता झाले आह्वान गरे ।

अभियानी संजय सिंहको अध्यक्षतामा भएको बृहत् संवादात्मक कार्यक्रममा स्वतन्त्र मधेशको अभियानका संस्थापक कैलाश महतोलगायतकाहरुकोसमेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा अधिकांश लोसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News