अपडेट 
२०८० फाल्गुन २७, आईतवार ०६:४१

जनता समाजवादी पार्टी (जसपा)वाट मन्त्री बनेकाहरुको शपथ ग्रहण आइतवार हुने भएको छ ।

शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मन्त्री बनेकाहरूको शपथ लिने र त्यसपछि सत्ता गठबन्धन दलहरूबिच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे जानकारी गराएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्रीको शपथ लिने पार्टीका प्रवक्ता मनिष सुमले जानकारी दिए ।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले लगायतका गठबन्धन बनाई मन्त्रिपरिषद् विस्तार गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीका लागि आफूले दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका छन् । संवैधानिक व्यवस्था अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।

संसदीय दलको बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उपस्थित हुन राष्ट्रिय सभामा रहेका आफ्नो दलका सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रममा पनि विश्वासको मत लिनका लागि प्रतिनिधि सभा सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News