अपडेट 
२०८० फाल्गुन २७, आईतवार ०६:४३

भारतबाट अपहरण गरी नेपाली भूमिमा आश्रय लिने अपहरणकारीको गिरोहका नाइकेलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

भारतीय व्यवसायीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गरेका गिरोहका मुख्य नाइके ४० वर्षीय राजेश भन्ने राजन माझीलाई मधेश प्रदेश प्रहरी र कोशी प्रदेश प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरंग र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले आरोपित माझीलाई पक्राउ गरेको छ । बिराटनगरको कञ्चनवारीको खड्का होटेलबाट उनलाई पक्राउ गरिएको मोरंग प्रहरीका प्रहरी नायब उपरीक्षक राजन दाहालले जनाएको छ । प्रहरी नायब उपरीक्षक दाहालले जनाए अनुसार आरोपित माझी विभिन्न अपराधिक घटनामा संलग्न रहेका छन् ।

विभिन्न चारवटा चोरी डाकासहितको मुद्दा उनीमाथि अदालतमा चलिरहेको छ भने डाँका मुद्दामा उनलाई तीव्र खोजी कार्य भइरहँदा आरोपित माझीलाई पक्राउ गरी मोरंग जिल्ला अदालतम पेश गरिएको उनले बताए ।

महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरिले गत पुस र माघ महिनामा भारत बिहारको सीतामढी जिल्ला स्थित सोनवर्सा बजारका दुईजना व्यवसायीलाई अपहरण गर्ने मुख्य नाइके राजन रहेको दाबी गरे । फिरौती माग्नेको मोबाइलमा रहेको आवाज उनैको रहेको महोत्तरी प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक गिरिले बताए ।

गत माघ १६ गते सोनवर्सा बजारका इँट्टाभट्टा व्यवसायी ३४ वर्षीय अभिषेक कुमारलाई अपहरण गरेका थिए । उनलाई अपहरणकारीको गिरोहले नेपाल ल्याएर तीन करोड रुपैयाँबाट सुरु गरेको बार्गेनिंग ५० लाख भारतीय रुपैयाँ फिरौती लिएर माघ २६ गते सर्लाहीको संग्रामपुर स्थित नेपाल–भारत सीमावर्ती क्षेत्र तर्फबाट मुक्त गरेको थियो ।

त्यस्तै सोनवर्साकै औषधि व्यवसायी कामेश्वर रायलाई मंसिर महिनामा अपहरण गरि नेपाल ल्याएको थियो । अपहरण गरी ल्याएको पाँच दिनपछि ३० लाख रुपैयाँ भारतीय रुपैयाँ फिरौती लिएर औषधि व्यवसायी रायलार्य अपहरणकारीले महोत्तरीको सम्सी नाकाबाट मुक्त गरेको थियो ।

प्रहरी नायब उपरीक्षक गिरीले पक्राउ परेका माझीको बिराटनगरमा समेत केही अपराधिक मुद्दा रहेकाले अहिले उनी मोरंग प्रहरीको हिरासतमा रहेको बताए । उनले त्यहाँको कारबाही सकिएपछि आरोपित माझीलाई महोत्तरी ल्याएर शरीर बन्धक मुद्दा चलाइने जनाइएको छ । भने उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News