अपडेट 
२०८० फाल्गुन २७, आईतवार ०६:४७

सर्लाहीको बाग्मती नगरपालिकाले निर्माण गरेको भरत तालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो बढेपछि निजी क्षेत्रहरूको लगानीमा सेवा सुविधाहरू थप गरिएको छ ।

२ वर्षअघि तालमा बोटिङको मात्रै सुविधा रहेकोमा अहिले जिपलाइन, वाटरसाइकल, स्काइ साइकलिङ, उँट र घोडामा चढेर तालको वरपर अवलोकन गर्ने र वृद्धवृद्धाहरूका तथा बालबालिकाहरूलाई मिनी रेल, सर्वसाधारणहरूका लागि फोटो खिच्न र भिडियो बनाउन क्यामरामेनको समेत व्यवस्था गरिएको छ ।

वाग्मती नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा चालु आर्थिक वर्षदेखि पर्यटकहरूका लागि एक दर्जनभन्दा धेरै सुविधाहरू थप गरेको छ । जसका कारण दैनिक हजारौँको संख्यामा ताल घुम्न आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ । भरत ताल घुम्न आएकी बारा जीतपुरसिमरा–२१ की सीता केसीले बोटसँगै तालमा स्काई साइकलिङ, वाटर बाइक, उँट, घोडा चढेर घुम्न सक्ने सुविधा थप भएपछि झनै रमाइलो भएको बताएकी छन् । ‘पहिला पहिला आउँदा यहाँ बोट मात्रै थियो, अहिले धेरै विकास भएको रहेछ । यहाँ आउँदा विदेशमा घुमेको जस्तो लाग्यो,’ केसीले भनिन् ।

भरत ताल घुम्न आएका बर्दिबासका अवधेश कुमार यादवले पनि विगतको तुलनामा भरत तालमा धेरै सुविधा थपिएको बताए । ‘२/३ वर्षदेखि लगातार आइरहेको छु । अहिले धेरै सुविधाहरू थपिएपछि झनै रमाइलो भएको छ,’ यादवले भने । वरपरको भूभागसहित भरत ताल २२१ बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

नेपाली तथा अङ्ग्रेजी नयाँ वर्ष, शनिवार र अन्य सार्वजनिक बिदाको दिन यहाँ पर्यटकहरूको भीड लाग्ने बोटिङ सञ्चालक सुशीलकुमार वाइवाले जानकारी दिए । उनले नगरपालिकासँग सम्झौता गरेर ८० प्रतिशत रकम कम्पनी र २० प्रतिशत रकम नगरपालिकाको खातामा जम्मा हुने गरी टिकट बिक्री भइरहेको बताएका छन् ।

तालमा बोटिङ चढ्दा ठूलो जहाजमा ५ सय सानो डुङ्गामा ३ सय रुपैयाँ शुल्क लाग्ने गर्दछ । भरत तालमा ५ वटा घोडा र एउटा उँट, एउटा मिनी रेल पनि सञ्चालनमा छ जसमा पर्यटकहरू चढेर घुम्ने, फोटो खिच्ने र भिडियो बनाउने गर्दछन् । पर्यटकहरूका लागि उँट सञ्चालन गर्दै आएका रामलक्ष्यण साहले उँट चढ्न बालबालिकाको लागि ५० र ठूलो व्यक्तिको लागि सय रुपैयाँ शुल्क लाग्ने बताएका छन् । उनले शनिबार र बिदाको दिन थेग्नै नसक्ने गरी भीड लाग्ने गरेको बताए ।

पर्यटकहरूका लागि सञ्चालनमा रहेको रेलमा भने एक पटकमा १६ जनासम्म चढ्न मिल्छ । जसका लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लाग्दछ । रेलको टिकट काट्दै आएका वाग्मती नगरपालिकाका कर्मचारी प्रेमबहादुर विश्वकर्माले प्रतिव्यक्ति टिकटमा २० प्रतिशत रकम नगरपालिकालाई बुझाउने गरेको बताए । ‘सय रुपैयाँमा २० रुपैयाँ नगरपालिकालाई दिनुपर्छ ८० रुपैयाँ हामीलाई हुन्छ,’ विश्वकर्माले भने । भरत तालमा वाग्मती नगरपालिकाले टिकट काट्नकै लागि २५ देखि ३० जना कर्मचारी खटाएको छ ।

मधेश प्रदेशको एक मात्रै मानव निर्मित भरत ताल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि मुख्य आकर्षण केन्द्र बनेको छ भने वाग्मती नगरपालिकाको राजस्व सङ्कलनको मुख्य स्रोतसमेत भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा नगरपालिकाले बोटिङबाट मात्रै १ करोड भन्दा धेरै राजस्व सङ्कलन गरेको छ भने सवारी साधन पार्किङ शुल्क बापत ५० लाख भन्दा बढी राजस्व सङ्कलन गरेको वाग्मती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जनाए । उनले तालसँगै आश्रित रहेर ५ सयभन्दा धेरै स्थानीयले प्रत्यक्ष रोजगारी पाएको बताएका छन् । ‘अहिले हाम्रो नगरपालिकाको राजस्व सङ्कलनको मुख्य श्रोत भनेकै भरत ताल हो, निजी क्षेत्रसँगको सहकार्यमा हामीले अहिले धेरै सेवा सुविधाहरू थप गरेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत पुरीले भने ‘अब हाम्रो योजना पिकनिक स्थल, जंगबहादुर राणाको परिचय खुल्ने जंगे पार्क, चिडियाखाना बनाउने योजना छ । यसका लागि बजेट अभावले अलि समस्या भएको छ ।’ भरत ताल रौतहट र सर्लाही जिल्लाको सिमाना पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटर दक्षिणतर्फ पर्दछ ।

प्रमुख प्रशासकीय अधिकृत पुरीले भरत तालले मधेश प्रदेशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । पछिल्लो समय भारतको विहार र देशभरबाट पर्यटकहरूको ओइरो लागेको उनले दाबी गरेका छन् । ‘भरत ताल अर्बौँको प्रोजेक्टको रूपमा विकास भइसकेको छ । यसमा नगरपालिका एक्लैको लगानीमा भन्दा पनि निजी क्षेत्र र संघीय सरकारको साझेदारी लागतमा काम गर्ने गरी हामीले कानुन बनाएर दाताहरू खोजिरहेका छौँ,’ पुरीले भने ।

Comment


Related News

Latest News

Trending News