अपडेट 
२०८० फाल्गुन २७, आईतवार १२:०४

मिथिला मध्यमा परिक्रमा आजबाट शुरु भएको छ । मिथिलाको महाकुम्भको रुपमा मानिएको मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका कचुरीमा रहेको मठबाट डोला निकालिएसंगै सुरु भएको हो ।

नेपालको प्रथम राष्ट्रपति डा। रामवरण यादव तथा मधेसको उद्योग पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवको उपस्थितिमा मिथिला बिहारीको डोला उठेसंगै मिथिला मध्यमा परिक्रमाको शुरुवात भएको हो । यद्यपि विधिवत रुपमा सोमबार जनकपुरधामस्थित हनुमानगरबाट मिथिला मध्यमा परिक्रमाको शुरुवात हुनेछ ।

कचुरीमा आयोजित एक कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले मिथिला मध्यमा परिक्रमा जस्तो धार्मिक परम्परामा राजनीतिकरण गर्न नहुने बताए । उनले यसलाई विशुद्ध धार्मिक कार्यक्रम नै रह्न दिन आग्रह समेत गरे ।

त्यस्तै कार्यक्रममा उपस्थित मधेसको उद्योग पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले मधेसमा पर्यटनको बढावाका लागि मिथिला मध्यमा परिक्रमालाई व्यवस्थित गर्न प्रदेश सरकार गम्भिर रहेको बताइन् ।

जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरुको परिक्रमा गर्ने गरिन्छ ।

१५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न स्थानमा श्रद्धालुहरु पुग्ने गर्छन् ।

फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछ । हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ ।

नेपालको धार्मिक ऐतिहासिक ठाउँहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी जम्मा १३३ किलोमिटर भूभागको यात्रा गरिन्छ ।
मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने छ । पुनः भारतको करुणा, विशौललगायतका धार्मिकस्थल हुँदै १४ औँ दिनमा जनकपुरधाम फर्कने छ ।

Comment


Related News

Latest News

Trending News