अपडेट 
२०८० फाल्गुन २८, सोमबार ०७:१५

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आइतवार देखि सुरु भएको छ ।

धनुषाको ठेरा कचुरी स्थित मिथिला बिहारीको मन्दिरबाट आइतवार मिथिला विहारीको डोला निस्केपछि माध्यमिकी परिक्रमा प्रारम्भ हुने गर्छन् । मिथिलाञ्चलका बहुचर्चित साँस्कृतिक उत्सव तथा संसार कै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्ने गर्छन् ।

परिक्रमामा १ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेका हुन्छन् । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु हुने परम्परा रही आएको छ । फागुन कृष्णपक्षको औसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान राम र जानकीको डोला सहित परिक्रमा सुरु हुन्छ ।

आइतवार राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु सोमवार विहान पूजापाठ गरी भारतको विहार राज्य स्थित कल्याणेश्वरको लागि प्रस्थान गर्नेछन् । फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरधामको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत रुपमा शुरुवात हुने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास बैष्णवले जानकारी दिए । महाशिवरात्रि लगत्तै सुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने माध्यमिक परिक्रमाका कारण मिथिलाञ्चलमा यसपटकको फागुन महिना उल्लास एवं भक्तिमय हुने भएको छ ।

मिथिला विहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौको सहभागिता रहने यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए । मिथिलाका जानकार तथा साहित्यकार वरिष्ठ पत्रकार हिमांशु चौधरीका अनुसार नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको २ गरी १५ विश्रामस्थल छन् ।

मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ । मिथिला महात्म्य अनुसार १८ औ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको छ । यस यात्राका सहयात्रीले नेपालका १ सय ७ र भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिका पैदलयात्र तय गर्ने परम्परा रहेको छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगहा, सीतामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागिता हुने गर्दछ ।

मिथिला महात्म्यमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरुले छोटो दुरीको अन्तःगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तःगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम उप महानगरपालिका भित्र पर्दछ । जानकी मन्दिरका उत्तराधिकारी महन्त दासका अनुसार वृहत्त परिक्रमालाई मौनी बाबाले १५ दिने माध्यमिकी परिक्रमामा रुपान्तर गरेदेखि हालको परिक्रमा सडक बनेको छ ।

परिक्रमामा रहेका हरेक विश्रामस्थलको धार्मिक महत्व छ । करिब डेढसय वर्षपूर्व समयदेखि दुईसय सम्म साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्म्यको निर्देशअनुसार प्रारम्भ गरिएको थियो । त्यसलाई करिब पचास वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंस सियालाल शरणले पाँचसय साधु सहित वाजागाजा सहित परिक्रमा गरेका थिए ।

पाँचसयको सानो संख्यालाई बढाएर २० हजार पु¥याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमंहसको उल्लेखनीय योगदान रहेको छ । माध्यमिकी परिक्रमामा करिब साठी वर्ष अघिदेखि मिथिला महात्मयको कथा वाचन गर्ने मुख्य पण्डित रामदुलारी शरणजी महाराजले सत्तरी वर्षसम्म उक्त भूमिका निर्वाह गरेर सो परिक्रमाको धार्मिकी करण गरेका थिए ।

परिक्रमामा सहभागी हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको कुरा पण्डित गणेश झाले बताए । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।

गृहस्थाश्रमदेखि साधुसन्तसम्मको विशाल सहभागिता रहेको यस यात्राका सबै सहभागीलाई यसको महत्वबारे जानकारी नभए पनि उनीहरु उत्साहका साथ यस पर्वमा सहभागी हुने गरेको जानकारी परिक्रमामा डोलीका अगुवाई गर्ने सुन्दर सदनका महन्त नबल किशोर शरणले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News