अपडेट 
२०८० फाल्गुन २८, सोमबार ०८:५८

प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१०, सोल्टीबाट चार राउण्ड गोलीसहित दुई युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका–१, भेडियाहीका २१ वर्षीय पोषण महरा राम र बागमती नगरपालिका–८, शङ्करपुर बस्ने २४ वर्षीय रञ्जित राम छन् । विशेष सूचनाका आधारमा परिचालित प्रहरीले बीआर ३० डब्लु ५८८३ नम्बरको भारतीय मोटरसाइकलमा रहेका मलङ्गवाका पोषण महरा रामलाई आठ एमएमको चार राउण्ड गोलीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पोसनलाई नियन्त्रणमा लिएर सोधखोज गर्दा बरामद भएको गोली रञ्जित रामबाट लिएको बयान दिएपछि रञ्जितलाई घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय बरहथवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए । सर्लाहीमा एक साताअघि सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका–५, इनरुवाबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउण्ड गोली बरामद गरेको थियो । हतियार बोकेर हिँडेका दुई व्यक्ति भारततर्फ फरार भएका थिए ।

Comment


Related News

Latest News

Trending News